Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नागरिकताको आवेदन र सफ्टवेयरमा सुधार गर्न माग

जुनु भट्टराई
१७ वैशाख २०८३, बिहिवार

विराटनगर । मोरङ जिल्लाका विभिन्न समुदायका प्रतिनिधिहरूले नागरिकताको आवेदन फाराम तथा सम्बन्धित सफ्टवेयरमा सुधार गर्न माग गर्दै नेपाल सरकार, गृह मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाएका छन् । 

उनीहरूले बुधवार जिल्ला प्रशासन कार्यलय मोरङमार्फत ज्ञापनपत्र बुझाएका हुन् । 

बेलबारी नगरपालिकाका स्थानीय बासिन्दा तथा विभिन्न जातीय समुदायका अगुवाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै हाल प्रयोगमा रहेको आवेदन प्रणाली र सफ्टवेयर संविधान २०७२ को मर्म तथा समावेशी भावनाअनुसार परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

ज्ञापनपत्रमा नेपालको संविधान २०७२ लागू भएसँगै ‘अञ्चल’ व्यवस्था खारेज भइसकेको भए पनि नागरिकताको आवेदन फाराममा अझै ‘अञ्चल’ उल्लेख भइरहेकाले त्यसलाई हटाइ हालको संघीय संरचनाअनुसार ‘प्रदेश’ उल्लेख गर्न माग गरिएको छ ।

त्यस्तै, आवेदन फाराममा धर्म सम्बन्धी विवरणमा सीमित विकल्प मात्र राखिएको भन्दै बौद्ध, इस्लाम, किरँत, इसाई, जैन लगायतका धर्मसँगै ‘अन्य’ विकल्प पनि स्पष्ट रूपमा समावेश गर्नुपर्ने माग गरिएको छ ।

सफ्टवेयर प्रणालीमा धर्मको प्राथमिकता क्रम पनि जनसंख्याको वास्तविक तथ्यांक तथा नेपालको मौलिक पहिचानअनुसार हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

उनीहरूले किरात धर्म तथा वन, प्रकृति जस्ता परम्परागत आस्थालाई समेत विकल्पमा समावेश गर्नुपर्ने बताएका छन् ।

ज्ञापनपत्रमा सरकारी कार्यालयमा प्रयोग हुने भाषाशैली पनि सम्मानजनक र शुद्ध नेपाली हुनुपर्ने उल्लेख छ । 

आवेदन फाराममा प्रयोग भएका केही शब्दहरू अनुपयुक्त रहेको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।

निवेदकहरूले नागरिकताको आवेदन प्रणाली सबै समुदाय, भाषा, धर्म र पहिचानप्रति सम्मानजनक तथा समावेशी बन्नुपर्ने बताएका छन ।

ज्ञापनपत्रमा बेलवारी नगरपालिका–१ मोरडका इरनकुमार राई, बेलवारी नगरपालिका–२ का कृष्णबहादुर गुरूड, धिमाल जाति विकास केन्द्र बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमाल, किरात राई यायोक्खा बेलबारी नगर समितिका अध्यक्ष तिलक राई, किरात याक्थुङ चुम्लुङ बेलबारी नगरसमितिका अध्यक्ष बलबहादुर लिम्बूलगायतले हस्ताक्षर गरेका छन् ।

View : 109

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved