विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहिचानका नाममा कसैलाई खेदेर ढुंगा हानेर पहिचानवादी हुन नसकिने बताएका छन् । मंगलबार झापाको दमक नगरपालिका-८ मा आयोजित लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुने जाने क्रममा मुख्यमन्त्री कार्की चढेको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेका थिए ।
आफूमाथि ढुंगा प्रहार भएपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्नो भाषा संस्कृति नै थाहा नहुनेहरूले पहिचानको आधारमा नाममा तुस लिएर ‘नाम राख, नाम राख’ मात्रै भन्ने गरेको जिकिर गरे । उनले पहिचान खोज्नेले आफ्नो भाषा र संस्कृतिको ज्ञान राख्नुपर्ने सुझाव समेत दिए ।
‘आफ्नो भाषा संस्कृति नै थाहा नहुनेहरूले पहिचानको आधारमा नाममा तुस लिएर ‘नाम राख नाम राख’ मात्रै भन्ने गरेका छन्‚’ आफूमाथि ढुंगा प्रहारको घटना भएपछि आक्रोशित मुख्यमन्त्री कार्कीले भने ‘तपाइँ पहिचानवादी कि म पहिचानवादी ? आउनुहोस् सोध्नुहोस्, एउटा मान्छेलाई खेदेर ढुंगा हानेर पहिचानवादी होइदैन, सबै मान्छेको बारेमा संरक्षण गर्नु नै पहिचान हो ।’
आफूले प्रदेशभित्रका विभिन्न जातजाति र भाषा संस्कृतिको संरक्षण गर्न फाल्गुनन्द भाषा संस्कृति सम्बर्धन गर्न बजेट छुट्याएको उनले बताए । मुख्यमन्त्री कार्कीले किरात सभ्यता प्रदेशको सम्पत्ति भएको बताए ।
‘किरात सभ्यता प्रदेशको सम्पत्ति हो, त्यसको संरक्षण सरकारले गर्नुपर्छ, फाल्गुनन्ददेखि खुवालुङसम्मको संरक्षण सरकारले गर्छ भनेर बजेट छुट्याएको छ‚’ उनले भने, ‘तपाईंले कहिले आवाज उठाउनु भयो ? हामीले गरेका छौं, गर्छौँ ।’
View : 362
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved