विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी गरेको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएपछि छलफल प्रारम्भ भएको हो ।
छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले नीति तथा कार्यक्रम शब्दमा राम्रो रहे पनि यसमा समावेश गरिएका विषय वस्तु कार्यान्वयन योग्य नरहेको दाबी गरिन् ।
प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार, कृषि र रोजगारीका विषय समेटिए पनि यसको कार्यान्वयनमा सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे ।
गणेश उप्रेतीले सुकुमवासीको विषयमा नीति तथा कार्यक्रम मौण रहनु दुःखद भएको बताए ।
होमबहादुर थापाले सबै क्षेत्रलाई समेट्ने गरी आएको नीति तथा कार्यक्रमले प्रदेशको विकासमा मार्ग चित्रको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
बाबुराम गौतमले सरोकारवालाहरुसँग छलफल नै नगरी ल्याएको नीति तथा कार्यक्रमबाट अपेक्षित जनता लाभान्वित नहुने दाबी गरे ।
राधकृष्ण खनालले सरकारले नीति तथा कार्यक्रमबाट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश बन्ने आशा जागेको धारणा राखे ।
प्रेमराज थाम्सुहाङले प्रदेशको पर्याप्त स्रोतसाधनको अभावमा सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषय वस्तु मनन गर्दा आमनागरिकको उज्वल भविष्य निर्धारण गर्न मद्दत पुग्ने टिप्पणी गरे ।
जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम नागरिकमैत्री, प्रदेशको योजना, स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्ने धारणा राखे ।
त्यस्तै प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले सरकारको मार्गचित्र झल्काउने यो नीति तथा कार्यक्रमबाट बन्ने वार्षिक बजेटबाट सरकारको बाटो स्पष्ट गरेको बताए ।
आइतबारको बैठकबाट ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३’ स्वीकृत भएको छ ।
नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका कारण प्रदेश सभाको अर्को बैठक भोली जेठ ११ गते दिउँसो १ बजे बस्नेछ ।
View : 124
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved