विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा सभापतिमा पराजितपछि रास्वपाको राजनीतिबाट ‘बिट मारेको’ घोषणा गरेकी संस्थापक प्रदेश सभापति गोमा तामाङ 'सरिन' चितवन महाधिवेशनमा सहभागी भएकी छन् ।
उनले आफुलाई प्रदेश सभापतिमा हराउन ‘चिट बाँडिएको’ दाबी गर्दै त्यसमा संलग्नहरू कारबाहीमा परेको ‘सुन्न देख्न परोस्’ भन्दै सभापति रवि लामिछाने समक्ष आग्रह गरेकी हुन् ।
उनले सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहको तस्वीरसहित ‘हातमा कसैको प्यानलको चिट बोकेको भेटिए उम्मेदवारी स्वतः खारेज हुने’ लेखिएको पोष्टमार्फत प्रदेश सभापति निर्वाचनमा आफूविरुद्ध चिट बाँड्नेलाई कारवाही हुनुपर्ने माग राखेकी छन् ।
तामाङले आइतबार विहान यस्तो पोष्ट फेसबुकमा हालिन् र अपरान्हमा रास्वपा राष्ट्रिय महाधिवेशन व्यवस्थापन उपसमितिको बैठकमा आफु उपस्थित भएको देखिने तस्वीर सार्वजनिक गरेकी हुन् ।
तामाङले आफुलाई हराउनका लागि मोरङ–१ का सांसद यज्ञमणि न्यौपाने लगायत केही केन्द्रीय सदस्यहरूले हातमा प्यानलको चिटै बोकेर बाँडेको दाबी गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।
आफूविरुद्ध रास्वपाको भावना विपरितको काम भएको भन्दै चिट बाँड्ने विरुद्ध कारवाही हुनुपर्ने मागपत्र सभापति लामिछानेसमक्ष बुझाएको बताएकी छन् । आफ्नो मागको सुनुवाईको अपेक्षा रहेको पनि उल्लेख गरेकी छन् ।
आफुविरुद्ध समूह बनाएर भोट माग्दै हिंडेको थाहा पाएपछि तामाङले प्रदेश अधिवेशन हलको मञ्चबाटै ‘संगठन बिथोल्ने प्रयास’ भइरहेको भन्दै विरोध जनाएकी थिइन् ।
रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह निकट रहेका वर्तमान महामन्त्री भूपदेव शाह नै कोशी प्रदेश सभापतिमा चन्द्र बहादुर राईलाई जिताउने म्याण्डेटसहित उपस्थित भएका कारण तामाङविरुद्ध गुटबन्दी भएको थियो ।
शाहकै निर्देशनमा अधिवेशनस्थलमा रहेका प्रतिनिधिहरूमाथि राईलाई नै सभापति बनाउने गरी तयार रहन भनिएको तामाङ निकट बताउँछन् ।
निर्वाचनमा तामाङ भने झण्डै दोब्बर मतले राईलाई पराजित भइन् । पराजित भएपछि उनले चर्को असन्तुष्टि पोखेकी थिइन् ।
असन्तुष्टिका बिच रास्वपाले भने तामाङलाई महाधिवेशन व्यवस्थापन उपसमितिको सदस्यमा चयन गरेको थियो ।
View : 94
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved