विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्राडा स्मृति कार्कीले सोमबार पदभार ग्रहण गरेकी छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ (ख) (१) बमोजिम प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति बालेन्द्र शाहको सिफारिसमा उपकुलपतिमा नियुक्त भएकी कार्की सोमबार प्रतिष्ठानमा पुगेर पदभार ग्रहण गरेको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिए ।
उपकुलपति प्राडा कार्कीलाई प्रतिष्ठान परिवारले फूल माला, अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
नियुक्ति अघि प्रतिष्ठानको प्याथोलोजी विभागकी प्रमुखसमेत रहेकी प्राडा कार्कीले प्रतिष्ठानमै प्याथोलोजी विषयमा स्नातकोत्तर अध्ययन गरेकी थिइन् ।
उनले यसअघि प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य तथा विभिन्न महत्वपूर्ण समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।
विभागीय प्रमुखका रूपमा लामो समयदेखि कार्यरत उनी हाउस अफिसरदेखि प्राध्यापकसम्मका विभिन्न तहमा प्रतिष्ठानमा काम गर्दै आएकी थिइन् ।
सरकारले तत्कालिन उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मा, रजिस्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा जगतनारायण प्रसादलाई पदमुक्त गरेपछि उपकुलपति पदका लागि आवेदन आह्वान भएको थियो ।
सो प्रतिस्पर्धामा १६ जना चिकित्सक तथा प्राध्यापक भिडेका थिए । अन्तिम छनोटमा परेका सात जना मध्येबाट प्राडा कार्की उपकुलपतिमा नियुक्त भएकी हुन् ।
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved