विराटनगर । विराटनगरको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) छेउको नेपाल कस्टम यार्ड (एनसीवाई) मा कार्गो रेल सञ्चालन सुरु भएको केही समयमै पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।
साउन ४ गतेयता चारवटा कार्गो रेल आइसकेका छन् । कन्टेनर राख्ने यार्डदेखि सडक र ब्यागेज कार्गो प्लेटफर्मसम्मका संरचना भत्किन थालेका हुन् ।
यार्डको कालोपत्रे ठाउँ–ठाउँमा उक्किएको छ । कतिपय भागमा दुई फिटसम्म गहिरा खाल्डा परेका छन् । पानी जम्ने गरी यार्ड भासिएपछि भारी कन्टेनर उठाउने रिच स्टेकर चलाउनसमेत जोखिम बढेको छ ।
समस्या यति बढिसक्दा पनि क्षतिग्रस्त संरचनाको मर्मत कसले गर्ने भन्ने टुंगो छैन । एनसीवाईसँग सम्बन्धित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र रेलवे बोर्ड नेपालले मर्मतको जिम्मेवारी एकअर्कातर्फ देखाएका छन् । यही कारण यार्डको मर्मत रोकिएको छ भने कार्गो रेल सञ्चालन नै जोखिममा परेको छ ।
एनसीवाईमा पहिलोपटक २०८० जेठ १८ गते कार्गो रेल आएको थियो । त्यसपछि अर्को रेल आउन तीन वर्ष लाग्यो । साउन ४ गते दोस्रो रेल आएपछि भने छोटो अवधिमै थप तीनवटा रेल आएका छन् ।
रेलबाट आउने कन्टेनर उतार्न ७० टन क्षमताको रिच स्टेकर प्रयोग हुन्छ । कन्टेनर एकमाथि अर्को राख्दा एउटै स्थानमा करिब एक सय टनसम्म भार पर्ने भएकाले यार्ड कमजोर हुँदा उपकरण सञ्चालनमै जोखिम हुने ट्रान्स नेपाल टीआरएस लोजीपार्कले जनाएको छ ।
आईसीपी र एनसीवाईमा कार्गो ह्यान्डलिङको ठेक्का लिएको ट्रान्स नेपालका प्रबन्धक मोहम्मद आलमले अहिले काम गर्न निकै जोखिम रहेको बताए ।
‘भत्किएर क्षतविक्षत भएको यार्डमा रिच स्टेकर नलैजाऊँ, कन्टेनरको अनलोड र ह्यान्डलिङ हुनसक्तैन । रिच स्टेकर यार्डमा राख्ता कहाँनेर भास्सिने हो वा कुन खाल्टामा परेर पल्टिने हो भन्ने डर छ । रिच स्टेकर भास्सियो वा पल्टियो भने ठुलो क्षति ब्यहोर्नुपर्छ’, आलमले भने ।
ट्रान्स नेपालका मुख्य व्यवस्थापक लक्ष्मी सुब्बाले यार्ड निर्माणकै क्रममा गुणस्तरमा ध्यान नदिइएको दाबी गरे । उनका अनुसार भारतीय पक्षले पुरेको माटोलाई राम्रोसँग रोलिङ नगरी त्यसमाथि अलकत्रा हालेर यार्ड तयार गरेको थियो ।
‘कालोपत्रका लागि प्रयोग गरिएको बिटुमिनको गुणस्तर पनि खराब देखिएको छ । जबकि कार्गोका लागि यार्ड बनाउँदा तीन फिट तलबाट आरसीसी गरेर माथि सिमेन्टेड वा कालोपत्रे जे गरे पनि हुन्छ । यही कमजोर सामग्री र निर्माणका कारण एनसीवाईको १ किलोमिटरको यार्ड काम नलाग्ने गरी भत्किएको हो’, सुब्बाले भने ।
एनसीवाईको समस्या कन्टेनर यार्डमा मात्र छैन । बोरामा आउने नुन, मल, चिनी, खाद्यान्न, स्पन्ज आइरन, इन्डस्ट्रियल केमिकल र चुना जस्ता सामग्री राख्ने ब्यागेज कार्गो प्लेटफर्ममा छानो नै छैन । पानीबाट जोगाउनुपर्ने यस्ता सामानका लागि सेड नभएपछि त्यस्तो कार्गो ल्याउन नसकिएको ट्रान्स नेपालले जनाएको छ ।
प्लेटफर्ममा छानो नहुनुका साथै त्यहाँ जडान गरिएका ब्लकसमेत उक्किन थालेका छन् । प्लेटफर्म भासिन थालेपछि यसको प्रयोग झनै जोखिमपूर्ण बनेको छ ।
एनसीवाईबाट आईसीपीसम्म जाने ३० मिटरका दुई सडकको अवस्था पनि उस्तै छ । दुवै सडक दुई फिटसम्म भासिएका छन् । सडक किनारमा टेवा दिन पुरिएको माटो बग्न थालेको छ ।
यार्डमा रहेको पुलले समेत कन्टेनर ह्यान्डलिङमा समस्या थपेको आलमले बताए ।
‘ब्रिजको ठिक तलतिर कार्गोरेल हुन्छ । यस ठाउँमा रीच स्टेकर चलाएर रेलबाट कन्टेनर उतार्न र ब्रिजको तलबाट रीच स्टेकर हिँडाउन गाह्रो भएको छ । त्यसैले कार्गोरेल संचालन गर्ने हो भने यस ब्रिजको काम छैन ।
यसलाई भत्काइदिए सबैभन्दा राम्रो हुन्छ । यस ब्रिजको केही उपयोगिता छैन’, आलमले भने ।
बथनाहादेखि कटहरीसम्मको रेलमार्ग भारत सरकारको ठेक्कामा भारतीय निर्माण कम्पनी इरकोनले बनाएको हो । एनसीवाई पनि यही रेलमार्गको संरचनामा पर्छ । इरकोन भारतीय रेलवेअन्तर्गतको निर्माण कम्पनी हो ।
एनसीवाई सञ्चालनका लागि ट्रान्स नेपालले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीसँग पाँच वर्षको सम्झौता गरेको छ । उसले मासिक एक करोड ४० लाख रुपैयाँ तिर्छ । तर एनसीवाईको स्वामित्व भने रेलवे बोर्ड नेपालसँग छ ।
नेपाल पारवहनका प्रबन्धक युवक डंगोलले आफ्नो संस्थाको स्वामित्वमा संरचना नरहेको भन्दै मर्मतको जिम्मेवारी लिन नसकिने बताए ।
‘त्यो भारतीय ग्रान्टमा बनेको संरचना रहेछ । हाम्रो स्वामित्वमा पर्दैन । हामीले संचालन मात्र गरेको हो । हाम्रो प्रोपर्टी नभएपछि हामीले मरम्मत, सम्भार वा निर्माण केही गर्ने कुरा भएन’, डंगोलले भने ।
रेलवे बोर्डका विराटनगर हेर्ने इन्जिनियर बोधप्रसाद भण्डारीले भने एनसीवाई पारवहनलाई हस्तान्तरण भइसकेकाले मर्मतको जिम्मेवारी उसैको भएको बताए ।
‘हामीले त ह्यान्डओभर गरेर पारवहनलाई जिम्मा लगाइसकेका छौँ । अब त्यसको संचालन, मरम्मत, संभार र के चाहिन्छ त्यसको निर्माण पारवहनले नै गर्ने हो । हामीले गर्ने होइन’, भण्डारीले भने ।
ट्रान्स नेपालका मुख्य व्यवस्थापक सुब्बाका अनुसार मासिक कम्तीमा १२ वटा कार्गो रेल नआए कम्पनीलाई सञ्चालन खर्च धान्न कठिन हुन्छ । तर दुई महिनामा चारवटा मात्रै रेल आएको र त्यसबीचमै पूर्वाधारसमेत बिग्रिएको उनले बताए ।
‘महिनामा १२ वटा कार्गोरेल आएनन् भने हामी ब्रेक इभनमा पुग्दैनौँ । किनकि महँगो मूल्यमा यहाँको ठेक्का लिइएको छ । तर २ महिनामा ४ वटा मात्र आएका छन् ।
त्यसमा पनि यहाँको यार्ड, सडक, प्लेटफर्म लगायतका सबै भौतिक पूर्वाधार भत्किएर काम नलाग्ने भइसकेका छन्’, सुब्बाले भने ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved