Biratnagar, Morang, Nepal
२१ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिएको उपहार

राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रको हार
उद्घोष सम्वाददाता
१६ माघ २०८०, मङ्गलवार

विराटनगर । सत्तारुढ गठबन्धन दलको बलियो मतभार हुँदाहुँदै पनि राष्ट्रिय सभाको भर्खर सम्पन्न निर्वाचनमा आफ्नो पार्टीका एक उम्मेदवार हार्नुपरेको चोट नेकपा माओवादी केन्द्रले अझै बिर्सन सकेको छैन । माओवादीले कांग्रेसको एउटा गुटले दिएको धोखाका कारण आफ्नो दलले पराजय भोग्नुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

कोशी प्रदेशमा राष्ट्रिय सभाको चुनाव हारेपछि नेकपा माओवादी केन्द्रको बैठक गएको शुक्रबार निकै लामो समय चलेको थियो । उक्त पार्टीका सचिव राम कार्कीको भनाइमा उनको पार्टी माओवादीलाई कोशीमा ‘ठूलो चोट’ लागेको छ । यसले गर्दा सहकार्यलाई लिएर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताएका छन् । 

उक्त पार्टीका कोशी प्रदेशका जिम्मेवार नेता तथा कार्यकर्ताहरू चाहिँ धोखाधडीको नेतृत्व कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की स्वयम्ले गरेको आरोप–प्रत्यारोपमा उत्रेका छन् । माओवादी निकट प्रेस सेन्टर नेपालका कोशी प्रदेश कमिटी कोषाध्यक्ष गोकुल पराजुलीले राष्ट्रिय सभा निर्वाचनमा ‘फ्लोर क्रस’ गर्न मुख्यमन्त्री कार्कीले सूक्ष्म व्यवस्थापन गरेको दावी गरेका छन् । एक स्थानीय पत्रिकामा पराजुलीले अनेकौं संयोगहरूको सिर्जना गरेर माओवादीसम्वद्ध उम्मेदवार हराउने प्रपञ्च गरेको उल्लेख गरेका छन् । 

राष्ट्रिय सभा निर्वाचनको अघिल्लो दिन प्रदेश राजधानी विराटनगरका क्रियाशील बहुसंख्यक पत्रकारहरूलाई बिहानैदेखि सुनसरीको शान्तिवनतिर ‘इन्गेज’ गराउने प्रयत्न प्रदेश सरकारकै तर्फबाट हुनु, र त्यसमा मुख्यमन्क्री केदार कार्कीले ‘माइत्रोम्यानेजमेन्ट’को भूमिका सम्हालेको देखिनु संयोगमात्रै नभएको उनले दावी गरेका छन् । उनले लेखेका छन्, ‘बिहानैबाट पत्रकारहरूलाई भोजभतेरमा लठ्ठ बनाएर सूचना संकलनबाट विमुख बनाउन सक्दा अर्कोतर्फ जारी षड्यन्त्रलाई सफलतामा पुर्‍याउन सकिने हिसाब किताबले त्यो खर्च गरिएको अनुमान गर्न गाह्रो छैन ।’ 

मुख्यमन्त्री कार्की स्वयंले गठबन्धको पक्षमा मतदान नगरेकोसमेत पराजुलीले आशंका गरेका छन् । ‘भन्नेले त गठबन्धनमा मुख्यमन्त्री कार्की स्वयंले मतदान नगरेको भनिरहेका छन्, तर उनले मतदान गरेको ‘ब्यालेट पेपर’को फोटो नै खिचेर राखेको जिकिर गरिरहेका कारण त्यो आरोप लगाउन मिलेन । तर त्यसो गर्नुपर्ने बाध्यता किन आइपर्यो यो सोचनीय छ’ पराजुलीले लेखेका छन् ।

कोशी प्रदेशबाट नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै सत्तारूढ गठबन्धनका नेता तथा कार्यकर्ता निरन्तर आरोप–प्रत्यारोपमा उत्रिएका छन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ कांग्रेसले दिएको धोका पहिलो नभएको बताउँछन् । उनले कांग्रेसले यसअघि पनि पटक–पटक धोका दिएको, यस्तै स्थिति रहेमा कांग्रेससँगको सहकार्य तोडिन सक्नेसम्मको चेतावनी दिएका छन् ।

‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ’ नेम्वाङ भन्छन्, ‘कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाउनुपर्यो, अहिले पनि हाम्रा उम्मेदवार पराजित भए ।’ नेम्वाङले गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएर माओवादीका उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानीको रुपमा लिएका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो राष्ट्रिय सभाको चुनावमा काग्रेसबाट भएको अन्तरघातलाई आफूहरुले गम्भीर रुपमा लिने बताउँछन् । उनले अब कांग्रेसलाई सहयात्री दलका रुपमा लिएर साथमा अघि बढ्न नसकिने बताए । उनले जननिर्वाचित प्रतिनिधिको तहबाट भएको अन्तरघात लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

‘राष्ट्रिय सभाको निर्वाचनमा माओवादीमाथि काग्रेसबाट धेरै पटक अन्तरघात र धोका दिने काम भएको छ’ आङ्बोले भने, ‘यस बारेमा कांग्रेसले संस्थागतरुपमा आफ्नो धारणा प्रष्ट पार्नुपर्छ ।’ यदि नेपाली कांग्रेसबाट अहिले पनि यसलाई स्वभाविक रुपमा स्वामित्व र अपनत्व लिने काम हुन्छ भने समग्र सत्ता समीकरण र सहयात्रामा नै आफूहरूले पुनर्विचार गर्ने आङ्बोले स्पष्ट पारे । उनले राष्ट्रिय सभाको निर्वाचनका बेला कोशीमा गरेको अन्तरघात र धोकाधडी गर्नेमाथि कांग्रेसले अनुशासनको कारवाही कसरी गर्छ भनेर आफूहरूले हेरिरहेको उल्लेख गरे ।

गठबन्धनको पक्षमा स्पष्ट बहुमत हुँदाहुँदै एमालेमा भोट जानु राजनीतिक बेइमानी भएको माओवादीले तत्कालै निश्कर्ष निकालेको थियो । निर्वाचनमा कोशी प्रदेश सभाका ९३ जना सदस्यले मतदान गरेका थिए । त्यस्तै स्थानीय निकायका कुल २७४ जना मेयर/उपमेयरमा तीन जनाबाहेक सबैले मतदान गरेका थिए । निर्वाचनमा एमाले र राप्रपाले अन्तिम समयमा र कांग्रेस, माओवादीलगायत सत्तारुढ दलले सुरुबाटै गठबन्धन गरेका थिए ।

देशका बाँकी प्रदेशमा गठबन्धनअनुरुपकै परिणाम आउँदा कोशी प्रदेशमा भने माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजीत भई एमालेकी रुकमिणी कोइरालाले जितेकी थिइन् । कोइरालाले ५ हजार ८६ र कार्कीले ४ हजार ९९२ मतभार पाएकी थिइन् । गठबन्धनका अर्का उम्मेदवार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला ५ हजार २९२ मतभार ल्याई विजयी भएका थिए । उनका निकटतम राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मतभार पाएका थिए । 

सत्तारुढ गठबन्धनले भने आफ्नो कुल मतभार ५ हजार ३९८ सुरक्षित रहेको बताउँदै आएको थियो । तर, प्रक्षेपण गरिएको मतभारमा ठुलै खालको घुनपुतली लागेको र आफ्नो उम्मेदवारले हार्नुपरेको विश्लेषण नेकपा माओवादी केन्द्रले गरेको छ । जसलाई उक्त पार्टीले कोशीमा कांग्रेसको पटक–पटकको धोका भनेको छ ।

View : 102

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved