Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वाञ्चल विश्वविद्यालय ‘पीयूआइकन’ को तयारीमा

उद्‌घोष संवाददाता
१३ माघ २०८२, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन (पीयूआइकन) गर्ने भएको छ । 

विश्वविद्यालयले ‘हिमालय क्षेत्रको भविष्य, दिगोपन र विकासका मार्गहरू’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने सम्मेलनका संयोजक इन्जिनियरिङ संकायका डिन प्रा.डा. भोलानाथ घिमिरेले जानकारी दिए ।

सोमबार पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ र फागुन १ गते विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सो कार्यक्रम हुने जानकारी दिइएको हो ।

उक्त सम्मेलनमा नेपालसहित भारत, नर्वे, युक्रेन, थाइल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अमेरिकालगायत १२ भन्दाबढी देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा दिगो विकास, हिमालय क्षेत्रको भविष्य, वातावरणीय परिवर्तन, नीति निर्माण तथा विकासका बहुआयामिक विषयमा केन्द्रित रहेर १५ वटा थेमेटिक सेशन सञ्चालन गर्ने सम्मेलनका प्रचारप्रसार संयोजक एवं विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताए ।

उनले सम्मेलनमा करीव १५० जना अनुसन्धानकर्ताले आफ्नो अध्ययन तथा अनुसन्धानसम्बन्धी शोधपत्र प्रस्तुत गर्ने जनाइएको छ ।

सम्मेलनबाट विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने, नीति निर्माण प्रक्रियामा सहयोग पुर्याउने तथा विश्वविद्यालय र समाजबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए ।

सुन्दरहरैंचा नगरपालिका, विश्व वन्यजन्तु कोष, निजी क्षेत्रका विभिन्न उद्योग–व्यवसाय समूह, होटल व्यवसाय क्षेत्र तथा बैंकिङ क्षेत्रका संस्थाहरूको सहकार्यमा उक्त सम्मेलन भव्यताका साथ आयोजना गर्न लागिएको हो ।

View : 259

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved