Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा

उद्‌घोष संवाददाता
२९ जेठ २०८१, मङ्गलवार

Advertisement

काठमाडौँ । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ ।

त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् । 

बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात् रु चार खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । 

त्यस्तै कूल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात् पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ । अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा रु ३४ अर्ब दुई करोड ५२ लाख बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार आठ सय ६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार नौ सय २२ जनाले लिएका छन् ।

कूल सात लाख ७९ हजार पाँच सय ८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा सात लाख दुई हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल तीन लाख १५ हजार आठ सय ११ हेक्टर रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन नौ खर्ब तीन अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ ।

कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलर बराबर छ । त्यस्तै गरिबी दर १७ दशमलव १९ र बहुआयामिक गरिबी १५ दशमलव नै प्रतिशत रहेको छ । 

मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४ दशमलव ४४ र निर्यात हिस्सा ३९ दशमलव ०६ प्रतिशत बराबर छ ।

View : 430

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved