Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

गृहमन्त्रीले क्लीन छु भन्ने देखाउन पदबाट हट्न आवश्यक छः डा. शेखर

उद्‌घोष संवाददाता
१० जेठ २०८२, शनिवार

विराटनगर । अध्यागमन प्रकरणमा संलग्नताको आरोप लागेका सरकारका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु पर्ने उनकै दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. कोइरालाले गृहमन्त्री लेखकले क्लीन छु भनेर देखाउन र आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताए ।

‘मन्त्रीहरूलाई लाग्ने यस्तो आरोप पहिलो होइन, इस्यु आएपछि आफू क्लीन छु भन्ने देखाउन पनि पदबाट हट्न आवश्यक छ,’ डा. कोइरालाले भने, ‘उहाँको संलग्नता नरहला तर आफू क्लीन छु भन्ने देखाउन पनि छानबिन हुन जरुरी छ।’

कोइरालाले डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बास्कोटा र शेरबहादुर तामाङले पनि आरोप लाग्दा राजीनामा दिएको उदाहरण दिँदै गृहमन्त्री लेखकलाई पनि राजीनामा दिन सुझाव दिए ।

‘उहाँले पनि अनुसन्धानका लागि पद छाड्दा हुन्छ, पछि क्लीन चिट पाएपछि फेरि पदमा आउँदा फरक पर्दैन।’

नेता कोइरालाले उच्च पदस्थ कर्मचारीलाई दुई वर्षे कुलिङ्ग पिरियडमा राख्नुपर्ने बताए। उनले संवैधानिक निकायमा अहिले पनि २२/२३ जना सचिवहरू रहेको भन्दै यस्तो पद कर्मचारीका लागि ‘पोस्ट रिटायर्डमेन्ट क्लब’ जस्तै भएको टिप्पणी गरे ।

साथै, उनले हिन्दू राष्ट्र राख्ने, राजा ल्याउने बहस गर्नु नै बेकार भएको बताए। मुलुक भ्रष्टाचारमा जकडिएकोले बरु त्यसलाई कसरी कम गर्ने भनेर बहस गर्नुपर्ने बताए ।

कोइरालाले कांग्रेसको महाधिवेशन २०८२ मंसिरभित्रै हुनुपर्ने बताए। उनले भने– ‘२०८२ को मंसिरमा महाधिवेशन गर्नुपर्छ भनेर सबैले स्टाटस लेखौं, नेतृत्वलाई दबाब दिऔं ।’

View : 785

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved