Biratnagar, Morang, Nepal
३० असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ जना घाइते

उद्‌घोष संवाददाता
२९ असोज २०८३, बिहिवार

Advertisement

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तरगत उदयपुरको त्रियुगा नगरपालिका–७ कालीखोलामा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

काठमाडौँबाट धरानतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका–२ बसाहाकी १८ वर्षीया सोनु बसेलको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा निधन भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ओखलढुंगाको लिखु गाउँपालिका–३ का ३२ वर्षीय धनबहादुर जोगीलाई थप उपचारका लागि धरान पठाइएको छ । अन्य घाइतेहरूको भने जिल्ला अस्पतालमै उपचार भएको र केही घाइतेहरू डिस्चार्ज समेत भएको जनाइएको छ ।

दुर्घटनामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ४५ वर्षीया जिना राई, संखुवासभाको गोठखोला गाउँपालिका–४ की ३९ वर्षीया छिजी शेर्पा र उनका ४० वर्षीय श्रीमान् निङमा शेर्पा घाइते भएका छन् ।

त्यसैगरी, सुनसरीको भोक्राहा नरसिंह नगरपालिका–४ की ४० वर्षीया माया भुजेल र उनका ९ वर्षीय छोरा सक्षम भुजेल पनि घाइते भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ का ३६ वर्षीय वीरेन्द्र थाम्सुहाङ, उदयपुरको चौदण्डीगढी नगरपालिका–१ निवासी २७ वर्षीया बिमला नेपाली, खोटाङको चिसापानी गाउँपालिका–३ निवासी २३ वर्षीया कमला बस्याल र संखुवासभाको धर्मदेवी नगरपालिका–८ निवासी २२ वर्षीया पवित्रा कटवाल घाइते भएका छन् ।

दुर्घटनामा काठमाडौँको शंखरापुर नगरपालिका–९ साँखु निवासी ३५ वर्षीया लुना कार्की र उनका ९ वर्षीय छोरा आगमन, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ निवासी ७० वर्षीया पदमकला राई, मोरङको बेलबारी नगरपालिका–६ निवासी २१ वर्षीया भूमिका कार्की तथा धनकुटाको पाख्रिबास नगरपालिका–५ निवासी ३५ वर्षीया मन्दिरा तामाङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये जिना राई, कमला बस्याल र धनबहादुर जोगीको अवस्था मध्यम रहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनापछि बस चालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का ३० वर्षीय सुमन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 100

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved