Biratnagar, Morang, Nepal
३० फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा प्रत्यक्ष नतिजा :

कांग्रेस १२, एमाले ८ क्षेत्रमा दोस्रो

कोशीमा कांग्रेसका ५ जना र एमालेका ९ जनाको जमानत जफत भएको छ ।
उद्‌घोष संवाददाता
२९ फागुन २०८२, शुक्रवार

एआईद्वारा श्रृजित सांकेतिक तस्वीर ।

विराटनगर । देशव्यापी रुपमा रास्वपाका पक्षमा देखिएको चुनावी लहर कोशीमा पनि उही आकारमा देखिदा प्रत्यक्ष र समानुपातिक दुवैमा उसैको वर्चश्व रह्यो ।

कोशीका २८ मध्ये प्रत्यक्षमा १७ स्थान जितेको रास्वपाले समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको यो निर्वाचनमा कोशीका २८ क्षेत्रमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरूको अवस्था भने धेरै दयनीय देखिएको छ । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस   गठबन्धनसँग तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसबेला कांग्रेस ८९ सिटसहित संसदको सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो । 

यसपटक कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको र नेतृत्व परिवर्तनको उत्साह बोकेर मैदानमा गएको भए पनि अपेक्षित परिणाम निकाल्न सकेन । 

यसपटक देशभर कांग्रेसले जम्मा १८ स्थानमा मात्र प्रत्यक्षतर्फ विजय हासिल गरेको छ । तीमध्ये कोशी प्रदेशमा चार स्थान जित्न सफल भयो ।

२०७९ मा कोशीमा कांग्रेसले ९ स्थानमा जीत हासिल गरेको थियो । 

यसपटक पाँचथरमा नरेन्द्रकुमार केरुङ, इलाम–१ मा निश्कल राई, तेह्रथुममा सन्तोष सुब्बा र सोलुखुम्बुमा प्रकाशसिंह कार्की विजयी भएका छन् । 

चार जनाले प्रत्यक्ष जितेको कोशी प्रदेशमा १२ जना कांग्रेस उम्मेद्वार दोस्रो भएका छन् । देशभरका १६५ क्षेत्रमध्ये  कांग्रेसका उम्मेदवारहरू  ८४ स्थानमा दोस्रो भएका छन् ।  

कोशी प्रदेशका चार निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको जमानत जफत भएको छ । झापाका तीन र सुनसरीको एक क्षेत्रमा कांग्रेसले जमानत जोगाउन सकिने मत समेत ल्याउन सकेन । 

झापा–२ की सरिता प्रसाईं, झापा–३ का राजेन्द्र घिमिरे, झापा–५ की मन्धरा चिमरिया र सुनसरी–१ का कांग्रेस उम्मेदवार सुजेन्द्र तामाङले कुल सदर मतको १० प्रतिशत मत पनि प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको छ ।  

निर्वाचन कानुनअनुसार उम्मेदवारी दर्ता गर्दा राखिएको धरौटी रकम फिर्ता पाउन कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्ने  प्रावधान छ । सो सीमा नपुगेमा निर्वाचन आयोगले उक्त रकम जफत गर्छ । 

यीमध्ये झापाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्र्टीले जितेको छ भने सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले जितेका छन् । 

२०४८ को चुनावयता अहिलेको कोशी प्रदेश एमालेको सबैभन्दा बलियो आधार क्षेत्र मानिन्थ्यो ।  यसपटक एमालेले देशभर जस्तै कोशीमा पनि ठूलो क्षति बेहोरेको छ ।

अघिल्लो  निर्वाचनमा एमालेले कोशीमा मात्रै प्रत्यक्षतर्फ १३ स्थान जितेको थियो । यसपटक भने जम्मा चार स्थान मात्रै जितेर उसले चित्त बुझाएको छ । 

ताप्लेजुङमा क्षितिज थेबे, इलाम २ मा सुहाङ नेम्वाङ, धनकुटामा राजेन्द्र राई र संखुवासभामा अर्जुन कार्कीले जितेका छन् ।  

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ देशभर ४४ स्थान जितेको एमाले यसपटक नौ स्थानमा मात्र सीमित भयो । 

निर्वाचन आयोगको विवरणअनुसार एमाले देशका ४१ निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीका रूपमा दोस्रो भएको छ । 

कोशी प्रदेशका आठ स्थानमा एमाले दोस्रो भएको छ । यद्यपि रास्वपाले जितेका ठाउँमा मतान्तर ज्यादै फराकिलो छ ।

झापा–२ मा देवराज घिमिरे, झापा–४ मा एलपी साँवा, झापा–५ मा केपी शर्मा ओली, तेह्रथुममा भानुभक्त ढकाल, भोजपुरमा शेरधन राई, मोरङ–२ मा दिलिप बगडिया, खोटाङमा देवविक्रम राई र उदयपुर–२ अम्बरबहादुर रायमाझी दोस्रो भएका छन् ।

धेरै क्षेत्रमा एमाले तेस्रो वा चौथो स्थानमा धकेलिएको तथ्यांकले दलको घट्दो प्रभाव झल्काउँछ ।

देशभर एमाले ६२ स्थानमा तेस्रो भएको छ भने ४२ स्थानमा चौथो स्थानमा सीमित भएको छ । मोरङ–५ र उदयपुर १ मा एमाले पाँचौ भएको छ ।

कोशीमा एमालेका ९ जना उम्मेदवारको जमानत जफत भएको छ । 

झापा–१ का रामचन्द्र उप्रेती, झापा–३ का हरि राजवंशी, मोरङ–३ का इरन राई, ४ का जीवन घिमिरे, ५ का मनोज अग्रवाल, ६ का विनोद ढकाल सुनसरी–१ का टिकाराम लिम्बू, २ का सुजन लामा र सुनसरी ४ का जगदिश कुसियैतको जमानत जफत भएको हो । 

यो निर्वाचनमा झापा, मोरङ र सुनसरी जस्ता परम्परागत रूपमा कांग्रेस एमाले बलियो मानिने जिल्लामा समेत ती पार्र्टीले उल्लेख्य मत गुमाएको देखिन्छ । 

२०७९ सालको प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी एमालेका ७८ सांसद थिए । तर अहिलेको परिणामअनुसार आगामी संसदमा एमालेको प्रतिनिधित्व ठूलो संख्यामा घटेको छ । 

हालसम्मको विवरणअनुसार एमालेका नौ जना उम्मेदवार प्रत्यक्ष र समानुपातिकतर्फबाट करिब १६ जना प्रतिनिधि संसदमा पुग्ने अवस्था छ । 

माओवादी, एकीकृत समाजवादी लगायतका १६ भन्दा धेरै दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कोशीमा ज्यादै कमजोर नतिजा ल्याएको छ । 

२८ निर्वाचन क्षेत्रमध्ये सोलुखुम्बुका असिम राई दोस्रो बन्नु नै प्रत्यक्षतर्फ नेकपाको सबैभन्दा राम्रो नतिजा हो । 

मोरङ ४, उदयपुर १, ओखलढुंगा र ताप्लेजुङमा गरी ४ क्षेत्रमा तेस्रो भएको नेकपा मोरङ ५, सुनसरी १ र ४, उदयपुर २, खोटाङ र पाँचथर गरी ६ स्थानमा चौथो भएको छ । 

त्यस्तै मोरङ १, २, ३, सुनसरी २, ३, भोजपुर, धनकुटा, इलाम १ र २, संखुवासभा र तेह्रथुम गरी ११ क्षेत्रमा नेकपा पाँचौं भएको छ । 

झापाको २, ३, ४, ५, मोरङको ६ गरी ५ स्थानमा छैटौं भएको नेकपा झापा १ मा सातौं बनेको छ ।

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved