विराटनगर । विश्व बजारमा इरान-अमेरिका र इरान युद्ध चर्किएर कच्चा इन्धनको उत्पादन र ढुवानी गर्ने खाडी देशहरुमा इन्धन अभाव बढिरहेको छ । त्यसको असर भारत हुँदै नेपालमा पनि प्रत्यक्ष देखिएको छ ।
सरकारले हालै पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको अभाव बढेको भन्दै आधा सिलिण्डरमात्रै ग्यास बिक्री गर्ने घोषणा गरेपछि धेरै घरपरिवार विद्युतीय चुल्होको प्रयोगतर्फ बाध्यतावस् केन्द्रीत हुन थालेका छन् ।
नेपालमा भारतको नाकाबन्दी र २०७२ को भूकम्पपछि खाना पकाउने वैकल्पिक साधनको खोजीमा तीव्र भएको थियो ।
त्यतिबेलादेखि नै विद्युतीय चुलो प्रयोग गर्ने क्रम बढ्दै गएको छ । अहिले देशमा जलविद्युत उत्पादन बढ्दै गइरहेको भएपनि मानिसहरुमा विद्युतीय उपकरणको प्रयोगमा त्यति ध्यान नगएको अवस्था छ । तर फेरीपनि ठुलो संख्यामा घरपरिवारहरु विद्यूतीय चुल्होको प्रयोग गर्न थालेका छन् ।
वातावरणीय दृष्टिले पनि स्वच्छ ऊर्जा प्रयोग आवश्यक भएको तथा सरकारले समेत बिजुली खपत बढाउन प्रोत्साहन गरिरहेको कारण विद्युतीय चुलोप्रति चासो अझै बढेको छ ।
यद्यपि उपभोक्तामाझ अझै पनि विद्युतीय चुलो धेरै बिजुली खाने, महँगो हुने वा सीमित परिकार पकाउन मात्र उपयुक्त हुने जस्ता धारणा पाइन्छन् । त्यसै कारण बजारमा उपलब्ध विभिन्न प्रकारका चुलोमध्ये कुन किन्ने भन्ने विषयमा धेरै उपभोक्ता अन्योलमा छन् ।
नेपाली बजारमा एक दर्जन कम्पनीका विद्युतीय चुलो पाइन्छन् । केही कम्पनि विश्वविख्यात पनि छन् भने केही लोकल छन् । प्रविधिको हिसाबले मुख्य रूपमा दुई प्रकारका विद्युतीय चुलो हुन्छन् — १) इन्डक्सन, २) इन्फ्रारेड।
यी दुवै विद्युतीय चुल्होको काम गर्ने तरिका र प्रयोग सम्बन्धि अलग तरिकाहरु छन् ।
इन्डक्सन चुलो तामाको तारबाट बनेको क्वाईल प्रयोग हुन्छ । यसले चुम्बकीय शक्तिमार्फत भाडालाई सिधै तताएर तपाँईको चाहेको खानेकुरा पकाउँछ ।
इन्फ्रारेड चुलोमा भने ह्यालोजिन ल्याम्प वा रेडियन्ट क्वाईलबाट ताप उत्पन्न हुन्छ र त्यसबाट भाडा तात्छ अनि खानेकुरा पाक्छ ।
इन्डक्सन चुलो छिटो तत्ने भएकाले खाना पकाउन कम समय लाग्छ । तर ताप केन्द्रित हुने भएकाले भाडाको बीच भाग बढी तात्न सक्छ ।
इन्फ्रारेड चुलोमा तापक्रम विस्तारै बढ्छ र सतहभरि समान रूपमा फैलिन्छ । त्यसैले ग्यास चुलोमा पकाएको जस्तै अनुभव दिन्छ । फ्राइ, रोस्ट वा ढिलो–ढिलो पकाउने परिकारका लागि यो उपयुक्त मानिन्छ ।
इन्डक्सन चुलोमा फलाम वा स्टेनलेस स्टिलजस्ता चुम्बकीय गुण भएका भाडा मात्र प्रयोग गर्न मिल्छ । तर इन्फ्रारेड चुलोमा एलुमिनियम, माटो, स्टिल वा अन्य धेरै प्रकारका भाडा प्रयोग गर्न सकिन्छ ।
सामान्यतया बजारमा पाइने दुवै प्रकारका चुलो करिब १८०० देखि २००० वाट क्षमताका हुन्छन् । अझ यो भन्दा बढीका पनि पाइन थालेका छन् । इन्डक्सनले भाडालाई सिधै तताउने भएकाले ऊर्जाको उचित प्रयोग बढी हुने गर्दछ र इन्फारेडको तुलनात्मक रूपमा केही कम बिजुली खपत हुन्छ ।
धेरै घरपरिवारले ग्यासको तुलनामा विद्युतीय चुलोको प्रयोग गर्दा मासिक खर्च कम भएको अनुभव सुनाउने गरेका छन् । त्यस्तो अनुभव इन्डक्सन चुल्हो प्रयोग गर्नेहरुको बढी रहेको पाइन्छ ।
सुरक्षाको दृष्टिले इन्डक्सन चुलोमा सेन्सर, अटो–कट अफ, ओभरहिट प्रोटेक्सन जस्ता सुविधायुक्त पाइँदै आएका छन् । यसमा चाहिने खालकाे भाडा नराखेसम्म चुलोमा ताप प्रवाह नहुने भएकोले सुरक्षाको हिसावले सुरक्षित मानिन्छ ।
इन्फ्रारेड चुलोमा भने बन्द गरेपछि पनि केही समय सतहमा तातो रहन्छ । यसले साना बालबालिका भएको घरमा सावधानी अपनाउनु पर्ने हुन्छ । अहिले प्रविधिको विकासले इन्फ्रारेड चुल्होमा पनि नयाँ नयाँ सुविधा थपिने क्रम पनि जारी छ ।
अर्कोतिर प्रविधिको प्रयोग सँधै फाइदाजनक मात्रै हुँदैनन् । दुवै प्रकारका चुल्होले केहि न केही रेडियसनको प्रवाह गर्ने भएकोले त्यसबारे थाहा पाउनु पनि आवश्यक छ ।
खासगरी इन्डक्सन चुलोमा तामाको क्वाइलबाट चुम्बकीय क्षेत्र उत्पन्न भई ताप उत्पन्न हुने भएकाले मुटुसम्बन्धि र विशेषगरी पेसमेकर प्रयोग गर्ने व्यक्तिले यस्तो चुलो नजिक लामो समय बस्न उचित नहुने विज्ञहरूको सुझाव छ । इन्डक्सनको तुलनामा इन्फारेडबाट भने कम रेडिएशन हुने गर्दछ ।
इन्डक्सन चुलोको सतह सामान्यतया कम तात्ने भएकाले सफा गर्न निकै सजिलो हुने गर्दछ । टिकाउको हिसावले भने इन्फ्रारेड चुलो लामो समय टिक्ने अनुभव धेरै पाइन्छ ।
सामान्य प्रयोगमा इन्फ्रारेड चुलो करिब १० वर्षसम्म चल्ने तर इन्डक्सन चुलोको आयु करिब पाँच वर्षजति मानिदै आएको छ ।
हालका नयाँ मोडेलका इन्डक्सन र इन्फ्रारेड चुल्होहरूमा टच कन्ट्रोल, प्रिसेट कुकिङ मेनु, टाइमर, चाइल्ड लक, डिजिटल डिस्प्ले, अटो ताप नियन्त्रण, ऊर्जा बचत मोड लगायतका अनेकौं स्मार्ट विशेषताहरु थपिएका छन् । केही ब्रान्डले मोबाइल एपबाटै समेत चुलो नियन्त्रण गर्न सकिने स्मार्ट किचन पनि बजारमा प्रवेश गराइसकेका छन् ।
सामान्यतया इन्डक्सन चुलो इन्फ्रारेडको तुलनामा केही सस्तो हुने गरेको छ । तर इन्डक्सनका लागि छुट्टै भाडा किन्नुपर्ने भएकाले समग्र खर्च भने बढ्ने अवश्य देखिन्छ ।
छिटो खाना पकाउने, कम बिजुली खर्च गर्ने र सुरक्षा प्राथमिकता दिने उपभोक्ताका लागि इन्डक्सन उपयुक्त हुन सक्छ । तर विभिन्न प्रकारका भाडा प्रयोग गर्ने, ग्यासजस्तै अनुभव चाहने र फ्राइ वा रोस्ट बढी गर्ने उपभोक्ताका लागि इन्फ्रारेड चुलो उपयोगी रहन्छ ।
ऊर्जा खपत घटाउने, स्वच्छ ऊर्जा प्रयोग बढाउने र घरायसी खर्च नियन्त्रण गर्ने विकल्पका रूपमा विद्युतीय चुलो प्रयोग आगामी दिनमा अझै विस्तार हुने देखिन्छ ।
View : 93
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved