रास्वपा कोशी प्रदेश अधिवेशन
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश अधिवेशनको उद्घाटन सत्र सकिएर बन्द सत्र चलिरहँदा सभापति पदमा चार जनाबीच प्रतिष्पर्धा निश्चित भएको छ ।
सभापतिसहित ६१ सदस्यीय कोशी प्रदेश समिति चयनका लागि रास्वपाको कानुन विभागको नेतृत्वमा गठित निर्वाचन समितिले मतदानको तयारी गरिरहेको जनाइएको छ । केहिबेरपछि मतदान सुरु हुने निर्वाचन समितिले घोषणा गरेको छ ।
सभापति पदका लागि चन्द्र बहादुर राई (मोरङ), डा. खगेन्द्र कटुवाल (तेह्रथुम), चन्द्र बहादुर गौली (झापा) र वर्तमान सभापति गोमा तामाङ (सुनसरी) बीच प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
मोरङको विराटचोकस्थित जेसिस भवनमा नेतृत्व चयनको प्रक्रिया चलिरह“दा प्रधानमन्त्री बालेन्द्र शाह पक्षबाट चन्द्र बहादुर राईलाई सभापतिमा निर्वाचित गर्न निर्देशन आइरहेको केही प्रतिनिधिहरूले बताएका छन् ।
कोशीको अधिवेशनमा बालेन्द्र शाह निकट मानिने रास्वपाका महामन्त्री भुदेव शाह लगायत मंगलबार नै उपस्थित भएका थिए । उनै महामन्त्री शाहमार्फत बालेनको उम्मेदवारका रुपमा राईलाई निर्वाचित गर्न प्रतिनिधिहरूलाई निर्देशन आइरहेको एक प्रतिनिधिले जानकारी दिए ।
उनले राईलाई सभापतिको बनाउनुको पछाडि कोशी प्रदेशमा उदाउ“दै गरेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई रोक्ने रणनीतिका रुपमा बालेन समुहबाट प्रचार भइरहेको बताए ।
प्रदेश अधिवेशनबाट सभापति बन्ने दौडमा उभिएका पिताम्बर तिम्सिना, पारशमणि गेलाल, र नारायणप्रसाद घिमिरेले भने उम्मेदवारी दर्ता गरेर फिर्ता लिइसकेका छन् ।
सभापति पदका लागि निर्वाचन समितिले २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको थियो । त्यस्तै सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको जनाइएको छ ।
‘प्रदेश अधिवेशन निर्वाचन कार्यविधि २०८३’ बनाएर त्यसै अनुसार उम्मेदवारबाट महंगो शुल्क लिएको हो ।
त्यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि मनोनयन शुल्क १७ हजार ५ सय रुपैयाँ तोकेको छ । शुल्क धेरै भएका कारण केही प्रतिनिधिहरूले उम्मेदवार बन्नबाट बंचित भएको समेत गुनासो गरेका छन् । प्रदेश सदस्य पदमा समेत १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
View : 96
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved