Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सीआईएम मानव संसाधन सम्मेलनमा के–के भयो ?

२७ वैशाख २०८३, आइतवार

विराटनगर । औद्योगिक क्षेत्रका लागि सक्षम र दक्ष जनशक्ति विकास गर्ने उद्देश्यका साथ उद्योग संगठन मोरङले सुरू गरेको दुईदिने ‘सीआईएम नेपाल मानव संसाधन सम्मेलन २०२६’ शनिबार सम्पन्न भएको छ । 

उद्योग संगठन मोरङले आयोजना गरेको मानव संसाधन सम्मेलन दोस्रो संस्करणको हो । सम्मेलनमा सेवा तथा उत्पादन क्षेत्रका झण्डै एक सय ५० जनाको सहभागिता थियो । 

सम्मेलनमा उद्योगी व्यवसायी, नीतिनिर्माता, शिक्षाविद्, मानव संसाधन विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

यसअघि शुक्रबार सम्मेलन उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले वर्तमान आर्थिक तथा औद्योगिक प्रतिस्पर्धामा दक्ष, सक्षम र उत्तरदायी मानव संसाधनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरे । 

उनले शिक्षा, सीप विकास र उद्योगबीचको समन्वयलाई सुदृढ गर्दै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग र श्रम बजारबीचको दूरी घटाउने, नयाँ सीपको मागअनुसार जनशक्ति तयार पार्र्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । 

अध्यक्ष राठीले उद्योग क्षेत्रमा दक्ष कामदार नपाउने र पाए पनि टिकाउन नसक्ने चुनौती रहेको उल्लेख गरे । 

उनले यस्तो समस्या केवल श्रमिक अभाव मात्र नभई दक्षता, कार्यसंस्कृति, अवसर, सुरक्षा र विश्वाससँग जोडिएको विषय भएको प्रष्ट पारे । 

उद्योगहरूले ‘हामीलाई तयार जनशक्ति चाहिन्छ’ भन्ने सोचबाट बाहिर निस्केर आफै सक्षम जनशक्ति निर्माण गर्न अग्रसर हुनुपर्नेमा जोड दिंदै अध्यक्ष राठीले भने, ‘यसका लागि शैक्षिक संस्थाहरूले पनि उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने तथा उद्योगहरूले इन्टर्नशिप, प्रयोगात्मक तालिम, अनुसन्धान र रोजगारीका अवसरमा सहकार्य गर्नुपर्छ ।’

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले नेपालको उद्योग क्षेत्र प्रविधिगत परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै मानव संसाधन व्यवस्थापनलाई रणनीतिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । 

दक्ष जनशक्तिबिना औद्योगिक विकास सम्भव नरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले सीप विकास र नेतृत्व निर्माणमा थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राध्यापक डा. बिजु थपलियाले शैक्षिक क्षेत्र र उद्योगबीचको दूरी घटाएर व्यावहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । 

उनले अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षाको समन्वयबाट मात्रै दक्ष जनशक्ति उत्पादन सम्भव हुने बताए । 

विश्वव्यापी आर्थिक तथा प्राविधिक परिवर्तनले मानव संसाधन व्यवस्थापनको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै उनले अबको युगमा नेतृत्व क्षमता र सिर्जनशीलतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

दुई दिनसम्म भएको सम्मेलनमा १० वटा विभिन्न सत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बहुराष्ट्रिय कम्पनीहरूको अभ्यास, प्रविधिगत परिवर्तनको प्रभाव, डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्व, श्रम ऐन तथा औद्योगिक विकासमा मानव संसाधनको भूमिकाबारे अनुभव र धारणा प्रस्तुत गरेका थिए । 

सम्मेलनलाई स्विस सरकारअन्तर्गतको हेल्भाटास र क्वालिटी परियोजनाको प्राविधिक सहयोग रहेको उद्योग संगठन मोरङले जनाएको छ । 

सन् २०२४ मा सम्पन्न पहिलो संस्करणले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गरेको, र दोस्रो संस्करणले त्यसलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।

View : 98

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved