Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

टिप्पणी

रास्वपा : बुँदा नम्बर १६ किन अलपत्र ?

बन्धु पोखरेल
२३ चैत २०८२, सोमवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को चुनावअघि सार्वजनिक गरेको वाचापत्रको १६ नम्बर बुँदामा ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं’ उल्लेख छ । 

सदाचार र असल शासनलाई आफ्नो पहिलो प्राथमिकता बनाउँदै सार्वजनिक गरेको सय बुँदे वाचापत्रलाई रास्वपाले नागरिकसँग गरिएको नैतिक करार भनेको थियो । र, करार पत्रमा औंठाछाप पनि लगाएको थियो । 

सार्वजनिक पद सम्हाल्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुनै कानूनी प्रबन्ध नभएको अवस्थामै उसले त्यस विषयलाई नागरिक करारका रुपमा अघि सारेको थियो । 

रास्वपाको वाचापत्र, उसको प्रतिबद्धता तर व्यवहारमा सुरुवाती बिन्दुबाटै देखिन थालेको अन्तरविरोध नै उसको समग्र असफलता त होइन । फेरि सय दिन नपुग्दै छिद्र खोज्ने छिद्रान्वेषी पनि हुन खोजेको होइन । 

यद्यपि आफैले गरेको वाचापत्र पूरा गर्न सुरुबाटै रास्वपा किन चुक भइरहेको छ ? कतै नयाँले पनि पुरानाकै ताल गर्न लागेको त हैन ? नागरिकमा एउटा संशय भने पैदा गरेको छ ।

जबकि रास्वपाले ‘हामी असम्भव वाचा गर्दैनौं, झुट्टा ठहरे दण्ड भोग्न तयार छौं र नागरिकको विश्वासलाई ऋणको रूपमा लिन्छौं’ भनेको थियो । रास्वपाले वाचापत्रको १६ नम्बर बुँदामा स्पष्ट रूपमा भनेको थियो, ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं ।’

नेपालमा भ्रष्टाचार, अपारदर्शिता र सत्ताको दुरुपयोगप्रति जनआक्रोश विद्यमान रहेको अवस्थामा रास्वपाको यो स्व–घोषणा आफैमा महत्वपूर्ण थियो । रास्वपाले भनेको सार्वजनिक पद कुन हो त्यो उसले स्पष्ट किटान नगरेकाले यसको कार्यान्वयनको अझै समय नआइसकेको भए अर्कै कुरा हो । नभए आम मानिसले बुझ्ने भनेको सार्वजनिक पद प्रधानमन्त्री, मन्त्री, सभामुख, प्रतिनिधिसभा सदस्यसहित सरकारी बेतन खाने अन्य पदाधिकारी हुन् ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले त्यस्तो पदमा वहाल रहेका ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गर्ने कानूनी व्यवस्था छ । 

कानूनले दिएको सुविधाभन्दा प्रगतिशील ढंगले एक कदमअगाडि बढेर ‘सार्वजनिक पद सम्हाल्नुअघि हामी आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्नेछौं’ भनेर रास्वपा आफैले नागरिकसँग करार गरेको हो । तर आफैले स्व–घोषणासहित वाचापत्रमा उल्लेख गरेको विषयमा उक्त पार्टीले कुनै क्षमायाचना गरेको वा कुनै कारणले गर्न नसकेको अहिलेसम्म भनेको छैन । 

रास्वपाले आफ्नो मूल शक्ति नै नैतिकता र सदाचार भनेर दाबी गरेको छ । तर जब आफ्नै वाचा कार्यान्वयन हुँदैन भने प्रश्न उठाउने कि नउठाउने ? के रास्वपाको वाचा वास्तविक हो कि केवल लोकप्रियताका लागि हो ?

यदि वाचा कार्यान्वयन गर्ने तयारी थिएन भने हतारहतारमा उसले यस्तो महत्वपूर्ण बुँदा किन लेख्यो ? कि १६ नम्बर बुँदा रास्वपाको मतदाता आकर्षित गर्ने केवल रणनीति मात्र हो ? यदि रास्वपासँग कार्यान्वयन गर्ने प्रणाली वा इच्छाशक्ति नै थिएन भने यो व्यवस्थापनको कमजोरीमात्र होइन, उसको इमान्दारिताको सुरुबाटै परीक्षण पनि हो । 

सम्पत्ति विवरण सार्वजनिक नगर्दा यो दलले अहिलेसम्म कानूनी व्यवस्था वा प्रबन्धको अतिक्रमण गरिसकेको छैन । त्यसैले सम्पत्ति विवरण सार्वजनिक नगर्ने उसको अहिलेसम्मको अनिच्छा वा प्राथमिकता कानूनी प्रश्नभन्दा उसैले तोकेको भाखा, उसैले कबोल गरेको लिखतको बर्खिलाप चाहिँ हो । 

आफ्नै वाचापत्र र सपथपत्र पूरा गर्नबाट च्युत हुन पुगेको रास्वपा पुरानै पार्टीझैं अपारदर्शी सत्ताको घटक बन्छ भने त्यो अलग कुरा हो । उसले आफ्नो वाचा पूरा नगर्दा नागरिकले जुन जोगी आए पनि कानै चिरेको भन्लान् । 

फेरि रास्वपाले काबु बाहिरको परिस्थितिबाहेक हामी पूरा गर्न नसकिने वाचा बाड्दैनौं भनेर नागरिकसँग आफैले करार गरेको छ । अहिले के कस्तो काबुबाहिरको परिस्थिति छ जहाँ रास्वपा वाचा गरेअनुरुप सम्पत्ति विवरण सार्वजनिक गर्न असमर्थ छ ?

युद्धको सामन्य प्रभावबाहेक अहिले नेपालमा कुनै त्यस्तो प्राकृतिक विपत्ति पनि छैन । कानूनी अवरोध र प्रशासनिक कठिनाइ पनि छैन । जसले गर्दा यो वाचा पूरा नगर्न उसलाई काबु बाहिरको परिस्थिति भन्न छुट होस् । 

रास्वपाले नागरिकसँग राजनीतिक विश्वासको ऋणको कुरा गरेको थियो । ऋण भनेपछि समयमै तिर्नुपर्ने र पारदर्शी रूपमा हिसाब दिनुपर्ने हो । तर, ऊ पहिलो किस्ताबाटै तिर्न आनाकानी गरिरहेको छ । 

सहकारीको रकम अपचलन गरेझैं गोलमाल गर्न खोजेको प्रतित हुँदैछ । यदि वाचाहरू नै पूरा हुँदैनन् भने त्यो ऋण बढ्दै जान्छ । जुन रास्वपालाई भविष्यमा महङ्गो पर्न सक्छ ।

कानूनले ६० दिनभित्र सम्पत्ति विवरण दिनू भनेको न्यूनतम दायित्व हो । तर रास्वपाले  कानूनी भन्दा उच्च मापदण्डको नैतिक जिम्मेवारी र आत्म–अनुशासनको कुरा गरेको थियो ।

रास्वपाले वाचा गरेअनुरुप सम्पत्ति विवरण सार्वजनिक गर्न नसक्नुलाई कानूनी असफलता भन्न नसकिए पनि उसको यो नैतिक विफलता भने पक्कै हो । एकातर्फ पुराना दलभन्दा फरक देखिने उसको चाहना, उसैले कबोल गरेको करार र व्यवहारबीचको असन्तुलन प्रकट हुँदै जाने हो भने रास्वपालाई पनि पुरानो दलको नया“ भर्सन भन्ने कि नभन्ने ?

जब उसको व्यवहार पुरानै शैली जस्तो देखिन थाल्छ भने उसले वैकल्पिक शक्ति वा नया“ शक्ति भन्नुको पनि कुनै तुक हुने छैन । अझ यो विषयमा उसको मौनता वा क्षमा माग्ने तत्परता नदेखिनु भनेको जवाफदेहिताको अभाव पनि हो । जुन कर्म पुराना पार्टीले गर्थे । बोली र व्यवहारबीच आनका तान फरक गर्ने उनीहरू बोल्थे एउटा गर्थे अर्को । 

विगतमा कुशासनबाट आजित नेपाली नागरिकले पुरानाको रिसले नयाँ पार्टीलाई आरी घोप्टाएझै त्यसै भोट दिएका होइनन्, नयाँले केही गर्ला कि भन्ने आशा र भरोसाले पनि भोट दिएका हुन् । उसको वाचापत्र हेरेर, पढेर भोट दिएका हुन् । यदि वाचापत्र केवल लेख्नका लागि थियो भने त्यो मसी र कागजको खर्चमात्रै हो । 

निश्चय नै १०० वटा बुँदा केवल केही दिन, हप्ता वा महिनामा पूरा गर्न सकिने खालका छैनन् । केही वर्षौ लाग्ने खालका छन् । त्यसका लागि नागरिकले पक्कै धैर्य राख्ने छन् । 

तर बुँदा नम्बर १६ कसैले थोपरेको वा कसैले जबर्जस्ती लेख्न लगाएको बुँदा होइन । रास्वपा आफैले करार गरेको वाचा हो । यदि पूरा गर्न सक्दैन थियो भने रास्वपाले किन लेख्यो ? कि रास्वपा पनि नयाँ बोतल पुरानै रक्सी हो ?

View : 285

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved