विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नै परिसरभित्र चस्मा पसल सञ्चालन गर्ने तयारी गरेको छ । आँखा विभागमा बढ्दो सेवाग्राही चाप र बिरामीहरूको आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले चस्मा पसल सुरु गर्ने योजना बनाएको हो ।
अस्पतालले आफ्नै परिसरभित्र चस्मा पसल सञ्चालन गर्ने तयारी थालेपछि अब आँखाका बिरामीहरूले उपचारपछि चस्मा किन्न बाहिर धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।
अस्पतालको आँखा विभागमा दिनप्रतिदिन बढ्दो सेवाग्राही चाप र बिरामीहरूको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै यस्तो योजना अघि सारिएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार हाल आँखा जाँच गराएपछि धेरैजसो बिरामीलाई चस्मा आवश्यक पर्ने भएपनि अस्पतालभित्र त्यस्तो सुविधा नहुँदा उनीहरूलाई निजी पसलतर्फ जान बाध्य पारिएको थियो । यसले समय, खर्च र झन्झट थप्ने गरेको गुनासो आउने गरेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सपरिन्टेन्डेन्ट (मेसु) रामनारायण चौधरीले आँखा बिभागमा आउने बिरामीहरूको सड्ख्या बढ्दै गएको र बिभागमा आउने धेरै बिरामीहरूलाई चस्माको आवश्यकता देखिएकाले बाहिर किन्न जानुपर्ने अप्ठयारोबाट सहज बनाउन उक्त चस्मा पसल अस्पतालमै सञ्चालनमा ल्याउन लागिएको बताए ।
‘हालसम्म अस्पतालभित्र चस्मा उपलब्ध नभएकाले बिरामीहरूलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता थियो, अब त्यो अवस्था अन्त्य हुनेछ,’ उनले भने, ‘आवश्यक फ्रेम र सिसा प्राप्त भइसकेका छन्, जनशक्ति व्यवस्थापन गरी वैशाख भित्रै सेवा सुरु गर्ने योजना रहेको छ ।’
अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीहरूले बीमा अन्तर्गत एक हजार रुपैयाँसम्मको चस्मा प्राप्त गर्न सक्ने छन् भने बीमा नभएका सेवाग्राहीहरूले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउने छन् ।
यसले विशेषगरी विपन्न तथा मध्यम आय भएका बिरामीलाई सहजता पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालको आँखा विभागका अनुसार अस्पतालको आँखा विभागमा सेवाग्राहीको चाप बढ्दो क्रममा छ ।
हाल दैनिक औसत ४० जना बिरामीहरूले ओपीडी सेवा लिइरहेका छन् ।
विभागले ओपीडीसँगै चस्मा जाँच, आँखाका रोग पहिचानका लागि ‘बी–स्क्यान’, ‘भिजुअल फिल्ड’ तथा आँखाको चाप नाप्ने सेवा उपलब्ध गराइरहेको छ । साथै, मोतियाविन्दुको नियमित शल्यक्रिया सहित अन्य शल्यक्रियात्मक सेवाहरू पनि सञ्चालनमा छन् ।
यद्यपि, विभागमा केही प्राविधिक जनशक्तिको अभाव रहेको छ । अप्टोमेट्रिस्ट, अप्टिकल फिटर, ओए तथा शल्यक्रिया कक्षका लागि तालिमप्राप्त नर्सहरूको आवश्यकता रहेको बिभागमा कार्यरत चिकित्सकहरू बताउँछन् ।
आगामी दिनमा भने अस्पतालले आँखा सम्बन्धी विशेषज्ञ सेवा विस्तारमा जोड दिने योजना बनाएको छ ।
विशेषगरी मधुमेह र उच्च रक्तचापका कारण देखिने आँखाका समस्या उपचारमा ध्यान केन्द्रित गरिने छ ।
अस्पतालले आफ्नै चस्मा पसल सञ्चालनमा ल्याएपछि सेवाग्राहीले एकै ठाउँबाट परीक्षणदेखि उपचार र चस्मा प्राप्त गर्न सक्ने वातावरण बन्ने विश्वास गरिएको छ ।
View : 165
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved