Biratnagar, Morang, Nepal
७ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेपाली ब्रान्ड जेम्स शुज फुटवेयर इन्डिया एक्स्पोमा

उद्‌घोष संवाददाता
६ भदौ २०८३, शनिवार

Advertisement

काठमाडौं । नेपाली जुत्ता ब्रान्ड ‘जेम्स’ भारतको नयाँ दिल्लीमा ‘फुटवेयर इन्डिया एक्स्पो-२०२६’ मा सहभागी भएको छ ।

नयाँ दिल्लीस्थित प्रगति मैदानमा शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीमा सहभागिता जनाएको जेम्स ब्रान्डको उत्पादक कम्पनी नेपाल जुत्ता फ्याक्ट्री प्रालिले जनाएको छ । कम्पनीले प्रगति मैदानको हल नम्बर १४ मा आफ्ना उत्पादन प्रदर्शन गरिरहेको छ ।

नेपाल जुत्ता फ्याक्ट्रीका प्रमुख कार्यकारी अधिकृत विकास अर्यालका अनुसार लामो समयपछि नेपाली जुत्ता उद्योगले भारतमा आयोजना हुने यस प्रकृतिको अन्तर्राष्ट्रिय व्यापारिक प्रदर्शनीमा सहभागिता जनाएको हो ।

नवलपुरमा कारखाना र काठमाडौंको ठूलो भर्‍याङमा कर्पोरेट कार्यालय रहेको कम्पनीले करिब २५ वर्षदेखि विभिन्न प्रकारका जुत्ता उत्पादन गर्दै आएको छ ।

कम्पनीका उत्पादन ‘जेम्स’ ब्रान्डका नाममा नेपाली बजारमा बिक्री हुँदै आएका छन् । गुणस्तर, आराम र आधुनिक डिजाइनलाई केन्द्रमा राखेर उत्पादन गर्दै आएको कम्पनीले अब स्वदेशी बजारमा सीमित ब्रान्ड पहिचानलाई क्षेत्रीय बजारसम्म विस्तार गर्ने रणनीति अघि सारेको छ । कम्पनीका अनुसार एक्स्पोमा नयाँ तथा विविध जुत्ता–चप्पलका उत्पादन प्रदर्शन गरिनेछ ।

कम्पनीले एक्स्पोलाई भारतीय बजारमा प्रवेशका लागि वितरक, थोक विक्रेता, खुद्रा बिक्रेता तथा अन्य व्यावसायिक साझेदार खोज्ने अवसरका रूपमा लिएको छ ।

भारतमा उत्पादन निर्यात तथा बजार विस्तारका सम्भावना पहिल्याउने, दीर्घकालीन व्यावसायिक सम्बन्ध स्थापना गर्ने र क्षेत्रीय बजारमा ब्रान्डको पहिचान विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।

अर्यालका अनुसार एक्स्पोमा भारतका करिब चार सय जुत्ता उद्योग तथा व्यवसायको सहभागिता रहनेछ। त्यहाँ जुत्ता उत्पादकसँगै वितरण, खुद्रा व्यापार, कच्चा पदार्थ, सहायक सामग्री तथा जुत्ता उत्पादनसम्बन्धी मेसिनरी व्यवसायीको समेत सहभागिता रहने भएकाले नेपाली कम्पनीका लागि बजार बुझ्ने र सम्भावित साझेदार पहिचान गर्ने अवसर बन्नेछ ।

आयोजकका अनुसार ‘फुटवेयर इन्डिया एक्स्पो’ भारतको फुटवेयर उद्योगमा केन्द्रित ‘बीटुबी’ व्यापारिक प्रदर्शनी हो। यसमा ब्रान्ड उत्पादक, थोक व्यापारी, वितरक, सहायक सामग्री तथा पार्टपुर्जा उत्पादक, कच्चा पदार्थ र मेसिनरी आपूर्तिकर्तालाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखिएको छ । प्रदर्शनीमा नयाँ उत्पादन र डिजाइन प्रस्तुत गर्नुका साथै व्यापारिक साझेदारी तथा बजार विस्तारका लागि प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर उपलब्ध हुने आयोजकले जनाएको छ ।

नेपाल जुत्ता फ्याक्ट्रीले पनि एक्स्पोमार्फत भारतीय बजारको नयाँ प्रवृत्ति, डिजाइन र बजार विकासबारे जानकारी हासिल गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार एक्स्पोमा सहभागिताले नेपाली उत्पादनको गुणस्तर, उत्पादन क्षमता र जेम्स ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर दिनेछ ।

View : 78

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved