Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

महेन्द्र मोरङ क्याम्पसमा छतबाट रोडा खस्दा एक कर्मचारी घाइते

उद्‌घोष सम्वाददाता
१ जेठ २०८२, बिहिवार

विराटनगर .। महेन्द्र मोरङ क्याम्पसको एक कक्षा कोठाको ढलानबाट खसेको सिमेन्टको टुक्रा  र रोडाले एक कर्मचारी घाइते भएका छन्।  क्याम्पसको मूल भवनमा रहेको कक्षा नम्बर ६३ मा परीक्षा चलिरहेको समयमा परीक्षा निरीक्षणमा बसेका पूर्व कर्मचारी आनन्द चौधरी घाइते भएका हुन्। टाउकोमा चोट लागेपछि उनको स्थानीय क्लिनिकमा उपचारपश्चात् घर फर्किएका छन्।

क्याम्पसको जीर्ण भवनको कक्षा नम्बर ६३ मा परीक्षा चलिरहेको बेला अचानक छतको सिलिङबाट सिमेन्टको ठूलो टुक्रा खसेर बुधबार दिउँसो निरीक्षक चौधरीको टाउकोमा लागेको थियो। घाइते चौधरीलाई तत्काल अस्पताल पुऱ्याइएको थियो। घटनापछि जोखिमपूर्ण कक्षाकोठालाई तुरुन्तै ताला लगाइएको छ।वि.सं. २०१५ सालमा विज्ञान विषयको अध्ययनका लागि निर्माण गरिएको महेन्द्र मोरङ क्याम्पसको मुल भवनमा २०१९ साल कार्तिक ३० गतेदेखि विज्ञानको पढाइ सुरु भएको हो। २०७२ सालको गोर्खा भूकम्पले क्षति पुऱ्याएपछि यसलाई ‘जोखिमपूर्ण’ घोषणा गरिएको थियो।

इन्जिनियरहरूले यसलाई जुनसुकै बेला भत्किन सक्ने चेतावनी दिँदै पठनपाठन रोक्न सिफारिस गरेका थिए। तर, चेतावनी दिँदादिँदै पनि सोही भवनमा कक्षा सञ्चालन भइरहेको छ।

भूकम्पपछि विद्यार्थी र शिक्षकहरूले भवन पुनर्निर्माणको तत्काल माग गर्दै आएका थिए। यसैबीच, सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठाइएका छन्। ‘नयाँ भवन निर्माणका लागि सरकारी उदासीनता र भारतजस्ता बाह्य सहयोगमा निर्भरताको आलोचना गरिएको छ। क्याम्पसका प्रतिनिधिहरूले सोधेका छन्– के नेपाल सरकारले यो ठाउँमा आधुनिक, भूकम्प प्रतिरोधी भवन बनाउनेछ? वा फेरि चन्दा माग्न बाध्य हुनेछ?’ भनी सामाजिक सञ्जालमा लेखिएको छ।

 

गत वर्ष पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी क्याम्पस भ्रमण गर्दा होस् वा नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालसँग आउँदा क्याम्पस प्रशासनले जीर्ण भवनको ठाउँमा विस्तृत, सुरक्षित र आकर्षक नयाँ संरचना निर्माण गर्न आग्रह गरेको थियो। तर, योजनाका लागि बजेट र राजनीतिक इच्छाशक्तिको अभावले यो अनिश्चित बनेको छ।

यसैबीच स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र मोरङ क्याम्पसले एक विज्ञप्ति जारी गर्दै छतबाट खसेको सिमेन्टले शिक्षक र विद्यार्थीको ज्यान खतरामा पर्न सक्ने भएकाले तत्काल मर्मत गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ। स्ववियु सभापति रोहित यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो माग गरिएको हो।

View : 147

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved