विराटनगर । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्ग्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्सले आइतबार सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनले विराटनगर किङ्ग्सको टोली थप बलियो हुने अपेक्षा गरिएको छ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने रसेल टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् ।
रसेलले वेस्ट इन्डिजबाट ८६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक हजार १२२ रन बनाएका छन् । उनले ६१ विकेट पनि लिएका छन् । रसेलले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीबाट समेत खेलेका थिए ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट प्रभावशाली प्रदर्शन गरेका रसेलले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेका छन् । विशेषगरी आक्रामक ब्याटिङ, लामो छक्का प्रहार र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी परिचित छन् ।
एनपीएलको तेस्रो संस्करणमा रसेलको सहभागिताले विराटनगर किङ्ग्सका समर्थकमा उत्साह थप्ने अपेक्षा गरिएको छ । उनको अनुभव र प्रदर्शनले प्रतियोगितामा विराटनगरको चुनौतीलाई थप बलियो बनाउन सक्नेछ ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तालिका छ ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved