विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको व्यापक हेरफेर गरेको छ ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएर उक्त स्थानमा प्रधान कार्यालयमै कार्यरत एसपी लवकुमार सापकोटालाई खटाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ भने उनको स्थानमा प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई युवा समूहबीच भएको झडप अनियन्त्रित बनेपछि सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
यद्यपि उक्त गोली सुरक्षाकर्मीले चलाएको बन्दुकबाट हो की होइन भन्ने विषयमा सुरक्षा निकायले स्विकार गरेको छैन । सो घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएको जनाइएको छ ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
घटनापछि थप तनाव र अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी लागेको अनिश्चितकालीन कर्फ्यू आदेश जारी छ ।
गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गरिने जनाएको छ ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved