विराटनगर । काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा विराटनगरमा ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
एभरेष्ट एजुकेशन फाउण्डेसनअन्तर्गतको स्थापित न्यू एभरेष्ट कलेजले पहिलो पटक बीआईटी कार्यक्रम सञ्चालनमा ल्याएको कलेजका प्रबन्ध निर्देशक टिकाराम पुरीले जानकारी दिए ।
आगामी शैक्षिक सत्रदेखि बीआईटीको अध्यापन सुरु गर्ने तयारीअनुसार अहिले काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नाको प्रक्रिया अघि बढाएको बताए ।
उनले विराटनगरमै अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि शिक्षा प्रदान गर्ने तयारी पूरा भएको जानकारी दिंदै यो वर्ष ३० जना विद्यार्थी मात्र भर्ना गरिने बताए ।
पुरीले काठमाडौं विश्वविद्यालय नेपालकै उत्कृष्ट विश्वविद्यालय रहेकोले निर्धारित समयमा पाठ्यक्रम सम्पन्न गर्ने, परीक्षा सञ्चालन गर्ने तथा नतिजा प्रकाशन गर्ने परम्पराका कारण विद्यार्थीका लागि यो कार्यक्रम आकर्षक हुने दाबी गरे ।
‘विद्यार्थीले सकेसम्म नेपालमै बसेर करिअर निर्माण गरून् भन्ने हाम्रो चाहना हो’ पुरीले भने, ‘तेस्रो सेमेस्टरपछि आवश्यकताअनुसार जब प्लेसमेन्टको व्यवस्था पनि गरिनेछ, जसले विद्यार्थीलाई पढ्दै कमाउने अवसर प्रदान गर्नेछ ।’
उनले विराटनगरमा बसेर पनि विश्वस्तरीय शिक्षा प्राप्त गर्न सकिने वातावरण निर्माण भएको बताए ।
बीआईटी चार वर्षे (आठ सेमेस्टर) शैक्षिक कार्यक्रम हो । पाठ्यक्रममा प्रोग्रामिङ तथा सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेसन डेभलपमेन्ट, कम्प्युटर नेटवर्क तथा साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा एनालिटिक्स, प्रोजेक्ट म्यानेजमेन्ट तथा इन्टर्नसिप समावेश गरिएको जनाइएको छ ।
बीआईटी अध्ययन पूरा गरेपछि विद्यार्थीहरूले सफ्टवेयर इन्जिनियर, वेब तथा मोबाइल एप डेभलपर, साइबर सेक्युरिटी विश्लेषक, एआई तथा मेसिन लर्निङ इन्जिनियर, क्लाउड इन्जिनियर, आईटी कन्सल्टेन्ट, बिजनेस इन्टेलिजेन्स एनालिस्ट तथा प्रविधि उद्यमीका रूपमा करिअर निर्माण गर्न सक्ने कलेजका बीआईटी कोअर्डिनेटर केशव भण्डारीले जानकारी दिए ।
पछिल्लो समय गुणस्तरीय उच्च शिक्षाका लागि ठूलो धनराशि खर्च गरेर विद्यार्थी विदेशिने क्रम बढ्दै गएको अवस्थामा विराटनगरमै प्रतिस्पर्धी प्राविधिक शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ यो शैक्षिक कार्यक्रम अघि सारिएको कलेज प्रशासनले जनाएको छ ।
एभरेष्ट कलेजलेले यस वर्षको कक्षा १२ मा शतप्रतिशत नतिजा हासिल गरेर आफ्नो शैक्षिक अब्बलता प्रदर्शन गरिसकेको छ । सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएका ८ जना विद्यार्थीहरूलाई सम्मानित गरेको छ ।
View : 26
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved