Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

यस्तो रह्यो राजेन्द्र राउतको तीन वर्षे कार्यकाल (मन्तव्य)

उद्‌घोष संवाददाता
२२ चैत २०८२, आइतवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आठौं प्रदेशसभामा आफू नेतृत्वको समितिको तीन वर्षे कार्यकालको समीक्षा प्रस्तुत गर्दै नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रप्रतिको विश्वास पुनस्र्थापना अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । 

महासंघ कोशी प्रदेशको आठौं प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा आफ्नो तीन वर्षे कार्यकालको समीक्षा प्रस्तुत गर्दै राउतले नेतृत्वलाई पदभन्दा जिम्मेवारीका रूपमा ग्रहण गरेको उल्लेख गरे । 

‘२०७९ सालमा तपाईंहरूको अमूल्य विश्वास र समर्थनबाट प्राप्त नेतृत्वलाई मैले पद होइन, जिम्मेवारीका रूपमा लिएको थिएँ,’ उनले भने, ‘यी तीन वर्ष चुनौती, संघर्ष र सिकाइले भरिएको महत्वपूर्ण यात्रा बनेको छ ।’ 

उनले आफूहरूले जिम्मेवारी संहाल्दा देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको स्मरण गर्दै निजी क्षेत्रको मनोबल उकास्न पहल गरिएको बताए । 

‘उद्योग–व्यवसाय सुस्त थिए, लगानीको वातावरण अनिश्चित थियो,’ उनले भने, ‘त्यस्तो कठिन अवस्थामा पनि हामीले लगानीकर्तामा आशा जगाउने प्रयास गर्यौं ।’  

राउतका अनुसार पछिल्ला वर्षहरूमा सुधारका संकेत देखिए पनि आन्तरिक र बाह्य कारणले अझै चुनौती कायमै छ । 

‘अनपेक्षित परिस्थितिका कारण अन्योल अझै बाँकी छ,’ उनले भने, ‘तर नयाँ जनादेशपछि नीतिगत स्थिरता र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गर्न सकिन्छ ।’

महासंघले विगत तीन वर्षमा निजी क्षेत्रको आवाज नीतिगत तहसम्म पु¥याउन निरन्तर काम गरेको उनको दाबी छ । 

‘जिल्ला, नगर तथा वस्तुगत संघबाट आएका सुझावलाई आधार बनाएर संघीय, प्रदेश र स्थानीय सरकारसँग संवाद बढायौं,’ उनले भने ।

रोजगार मेला, कृषि एक्स्पो, प्रशिक्षार्थी तालिम, लगानी सम्मेलनलगायत कार्यक्रममार्फत आर्थिक गतिविधि चलायमान बनाउने प्रयास गरिएको उनले उल्लेख गरे ।

डिजिटल अर्थतन्त्रतर्फ पनि महासंघले पहल थालेको उनले जानकारी दिए । 

‘व्यवसाय विकास सेवा र डिजिटल प्रणाली सुरू गरेका छौं, जसले साना तथा मझौला व्यवसायलाई सहयोग पुगेको छ,’ उनले भने ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई आर्थिक गतिविधिमा जोड्ने कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए । 

महासंघको आफ्नै भवन निर्माण प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिंदै उनले भने, ‘जग्गा खरीद भइसकेको छ, निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ, आगामी कार्यकालभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’

अन्तर्राष्ट्रिय परिस्थितिको असरबारे चर्चा गर्दै राउतले अमेरिका–इरान तनावका कारण तेल मूल्य वृद्धि हुँदा नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने चेतावनी दिए ।

‘पेट्रोलियम पदार्थ महँगो हुँदा ढुवानीदेखि दैनिक उपभोग्य वस्तुसम्म सबैमा असर पर्छ,’  उनले भने । त्यस्तै, विप्रेषणमा निर्भर अर्थतन्त्रका जोखिमतर्फ संकेत गर्दै उनले भने, ‘मध्यपूर्वको अस्थिरताले रोजगारी र आम्दानीमा असर पार्न सक्छ, जसले दीर्घकालमा अर्थतन्त्र नै संकुचित हुन सक्छ ।’ 

यसको समाधानका लागि देशभित्र उत्पादन र रोजगारी बढाउनुपर्ने उनले जोड दिए । 

कोशी प्रदेशका सम्भावनाबारे बोल्दै राउतले कृषि, पशुपालन, पर्यटन र जलविद्युतलाई मुख्य आधारका रूपमा अघि सार्नुपर्ने बताए । 

‘चिया, अदुवा, अलैंची, कफी, दूध, मासुजस्ता क्षेत्रमा अपार सम्भावना छ,’ उनले भने, ‘यी क्षेत्रको विकासले प्रदेश मात्र होइन, सिंगो देशको अर्थतन्त्रलाई टेवा पु¥याउन सक्छ ।’ 

गत भदौमा भएको ‘जेनजी आन्दोलन’ले निजी क्षेत्रमाथि गम्भीर असर पारेको उनले बताए । ‘व्यवसायिक प्रतिष्ठानमाथि भएको तोडफोड र आगजनीले निजी क्षेत्रको आत्मविश्वासमा गहिरो चोट पु¥यायो,’ उनले भने, ‘निजी क्षेत्र कुनै व्यक्ति होइन, यो देशको अर्थतन्त्रको मेरूदण्ड हो ।’ 

राज्य संयन्त्रको कमजोरीको भार निजी क्षेत्रले बोक्न नहुने उनको धारणा छ । नयाँ सरकारप्रति आशा व्यक्त गर्दै राउतले नीतिगत सुधारका संकेत सकारात्मक भएको बताए । 

‘नवनियुक्त अर्थमन्त्रीको निजी क्षेत्रमैत्री दृष्टिकोण र ‘डेलिभरी’ केन्द्रित कार्यशैली सकारात्मक संकेत हो,’ उनले भने ।

मन्तव्यको पूर्णपाठ पढ्नुहोस् ।

View : 214

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved