Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बरगाछी–रानी सडक सौन्दर्यीकरण कार्य सुरू

नविन कर्ण
२५ वैशाख २०८१, मङ्गलवार

विराटनगर । विराटनगरस्थित कोशी राजमार्गको बरगाछीदेखि रानीसम्मको सडकको बीचमा फूलविरूवा लगाएर सौन्दर्यीकरण गरिने भएको छ । महानगरपालिकाले एकबर्षे सौन्दर्यीकरण परियोजना अन्तर्गत सो सडकक्षेत्रलाई आकर्षक र रमणीय बनाउन लागेको हो ।

विराटनगरको ६ लेन सडकको मध्य भाग (मिडियन) मा रहेको माटो सहितको भागमा फूल र विरूवा लगाएर सौन्दर्यीकरण गर्ने परियोजना अघि बढाइएको हो ।

बरगाछीदेखि रानीसम्म ५ किलोमिटर सडक क्षेक्रमा ४६ वटा माटो सहितको मिडियनहरू रहेको महानगरले जनाएको छ ।

महानगरले सो कार्यत्रमलाई कार्यान्वयन गर्न समाजसेवी बेनीगोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय ‘बरगाछी–रानी डिभाइडर सौन्दर्यीकरण उपभोक्ता समिति’ र ३ सदस्यीय अनुगमन समिति समेत गठन गरेको छ । 

पहिलो चरणमा उपभोक्ता समितिले एकबर्षसम्म सञ्चालन गर्ने परियोजनामा ५५ लाख खर्च हुने जनाइएको छ ।

सौन्दर्यीकरणमा लाग्ने खर्च महानगरभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार क बर्गका बैंकले २ लाख, ख बर्गकाले १ लाख ५० हजार, ग बर्गकाले १ लाख र घ बर्गका बैंक तथा वित्तीय संस्थाले ५० हजार नगद उपलब्ध गराउने छन् । 

उक्त कार्यका लागि महानगरले नगरक्षेत्रभित्र कार्यालय रहेका ४२ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गरेको जनाएको छ । सहमति अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न बैंकहरूले महानगरलाई रकम उपलब्ध गराउन शुरू गरेका छन्  । विभिन्न बैंकका प्रतिनिधिहरूले सोमबार महानगरका मेयर नागेश कोइरालालाई भेटेर रकमको चेक हस्तान्तरण गरेका छन् । 

सो क्रममा एनआईसी एशिया बैंकले २ लाख, एनएमबी बैंकले २ लाख र नेपाल बैंक लिमिटेडले १ लाख ५० रूपैयाँको चेक मेयर कोईरालालाई हस्तान्तरण गरेका छन् । चेकहरू सौन्दर्यीकरण समितिको नाममा काटिएको छ । 

परियोजना अर्न्तगत डिभाइडरसँगै रहेका मिडियनहरूको माटो सम्याउनुका साथै फुल बिरूवाहरू लगाउने तथा त्यसको मलजल र संरक्षण गर्ने कार्य हुने विराटनगर महानगरपालिकाका सरसफाई ब्यवस्थापन शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

६ लेन सडक निर्माण भएपनि सौन्दर्यीकरण नगरिएकाले सडकक्षेत्र उजाड देखिने गरेको छ । महानगरको सुन्दरता अभिबृद्धि गर्न सो कार्यक्रम ल्याइएको महानगरका मेयर कोइरालाले बताए ।

सौन्दर्यीकरण परियोजनाका लागि एकथान रिकण्डिसन ट्रयाक्टर खरीद गर्नुका साथै फुल बिरूवा स्याहार्ने २ जना मालीहरू नियुक्त गरिने महानगरले जनाएको छ । एकवर्षको संरक्षण र स्याहारपछि हालको उपभोक्ता समितिले महानगरलाई सो परियोजना हस्तान्तरण गर्ने सरसफाई ब्यवस्थापन शाखा प्रमुख दाहालले बताए ।

एकबर्षपछि नयाँ योजना र कार्यक्रमका साथ सौन्दर्यीकरणलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved