Biratnagar, Morang, Nepal
२७ जेठ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

आज रास्वपा कोशी प्रदेश अधिवेशन, सभापतिमा आधा दर्जन आकांक्षी

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो प्रदेश अधिवेशन बुधबार सुरु हुँदैछ । मोरङको सुन्दरहरैंचास्थित जेसिज भवनमा पहिलो प्रदेश अधिवेशनको तयारी चलिरहँदा सभापतिका लागि आधा दर्जन जति आकांक्षी देखिएका छन् । 

केहीले सामाजिक सञ्जालमार्फत नै आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् भने केही आन्तरिक तयारीमा जुटेका छन् । केही जिल्लाका अधिवेशनमा नेतृत्व चयनका क्रममा रास्वपा कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था बन्दा प्रदेश सभापतिमा पनि आकांक्षीको संख्या बढ्दै गएर त्यसको असर प्रदेश अधिवेशनमा देखिने अनुमान गर्न थालिएको छ ।

आकांक्षीहरूको संख्या बढ्दै जाँदा सर्वसम्मत नेतृत्व चयनको सम्भावना कमजोर बन्दै गएको देखिएको छ ।

कोशी प्रदेश सभापतिका लागि उदयपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका केन्द्रीय उद्योग विभाग सदस्य पारसमणि गेलाल चर्चामा छन् । 

उनले सामाजिक सञ्जालमा मंगलबार पोष्ट गर्दै आफू सभापतिको उम्मेदवार रहेको घोषणा गरेका छन् । गेलालको झापा, मोरङ र सुनसरी जस्ता जिल्लामा समेत पकड रहेको जनाइएको छ । 

गेलाल बाहेक वर्तमान सभापति गोमा तामाङ (सरिन) पनि आकांक्षी हुन् । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ मा हर्कराज राईसँग पराजित भएपछि उनी पार्टीको नेतृत्व गर्ने मनस्थितिमा पुगेकी छन् । 

उनले राजनीतिक यात्राको यो अर्को महत्वपूर्ण र ऐतिहासिक मोडमा आइपुगेको उल्लेख गरेकी छन् । 

‘आगामी पूर्ण कार्यकालका लागि मैले कोशी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु’ उनले भनिन्, ‘मेरो यो उम्मेदवारी केवल पद प्राप्तिका लागि नभई कोशी प्रदेशलाई नीतिगत रूपमा सबल बनाउन, आन्तरिक लोकतन्त्रलाई थप मजबुत पार्न र हाम्रो प्रदेशको राजनीतिक गरिमालाई राष्ट्रिय स्तरमै उच्च राख्नका निमित्त हो ।’

तामाङले संगठनलाई अझ बढी जिम्मेवार, सुशासित र पारदर्शी बनाउँदै आम जनताको आशालाई भरोसामा बदल्ने दृढ संकल्प रहेको उल्लेख गर्दै पार्टी र विचारप्रतिको लामो निष्ठा र समर्पणलाई कदर गर्दै आगामी नेतृत्व चयनमा अमूल्य मत, मार्गनिर्देशन र पूर्ण समर्थनको अपेक्षा गरिएको भन्दै मतदाता कार्यकर्ता समक्ष अपिल गरेकी छन् ।

सभापतिका लागि प्रदेश कोषाध्यक्ष रहेका चन्द्र राई तयारीमा जुटेको रास्वपा स्रोतले जनाएको छ । 

राईले विशेष गरी जातीय क्लष्टरको प्रतिनिधित्व गर्दै रास्वपाको नेतृत्वमा पुग्न प्रयास गरिरहेको रास्वपा मोरङका एक पालिका समितिका सचिवले जानकारी दिए ।

प्रदेश सभापतिमा राजन दाहालसहित चन्द्र गौली र ताप्लेजुङका पूर्व सभापति वीरेन्द्र श्रेष्ठ पनि आकांक्षीका रूपमा उभिएको जनाइएको छ । 

सभापतिका आकंक्षी श्रेष्ठ स्थापना कालदेखि नै रास्वपाको जिल्लाको नेतृत्व गरेका आएका व्यक्ति हुन् । 

नेपालको जलविद्युत क्षेत्रमा ३० बर्षको अनुभव बटुलिसकेका श्रेष्ठले देशका विभिन्न जलविद्युत निर्माणको नेतृत्व गरिसकेको बताए । उनले मुलुकको विकासका लागि विकास निर्माण क्षेत्रकै व्यक्तिले राजनीति सम्हाल्नुपर्ने तर्क गरे ।

‘प्रदेश सभापतिमा मेरो स्ट्रङ दाबी छ, मैले ताप्लेजुङमा निवर्तमान सभापति भएर स्थापना कालदेखि जिल्लाको नेतृत्व गरेको हो’ उनले भने, ‘म पेशाले इञ्जिनियर हो, ३० वर्षदेखि इञ्जिनियरिङ पेशामा रहेर विभिन्न हाइड्रोमा काम गरिसकेको छु, राजनीतिक नेतृत्वमा हामीजस्तो मान्छे नै आउनुपर्छ भन्ने बुझाई बोकेर अघि बढेको छु ।’

प्रदेश अधिवेशनमा पालिका तहको समितिबाट प्रतिनिधि चयन भएर आउँदैछन् । 

उनीहरूले पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन गर्ने र निर्वाचित सदस्यहरू मध्येबाटै दोस्रो चरणमा अन्य पदाधिकारीहरूको चयन गर्ने रास्वपाको विधानमा व्यवस्था छ ।

कोशी प्रदेश कार्यसमितिमा सभापतिसहित उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री (महिला र पुरूष), एक कोषाध्यक्ष र एक प्रवक्ता रहने व्यवस्था छ । 

अधिवेशनमा कम्तिमा पनि एक हजार प्रतिनिधिको सहभागिता रहने वर्तमान सभापति गोमा तामाङ (सरिन) ले बताइन् । ‘जिल्ला जिल्लाबाट प्रतिनिधिको आइपुग्ने क्रममा छन्, संख्या यकिन भएको छैन’ उनले भनिन् ।

View : 98

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved