Biratnagar, Morang, Nepal
२४ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
विचार

पेशल पोखरेललाई भौतिकशास्त्रमा विद्यावारिधि

उद्‌घोष संवाददाता
२३ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर  ।  महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा भौतिकशास्त्र विषयमा प्राध्यापनरत पेशल पोखरेलले अत्याधुनिक प्रविधि क्‌वान्टम  कम्प्युटिङ र  डेन्सिटी फङ्सनल थ्योरी  विषय शीर्षकमा  विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा देवेन्द्र अधिकारीको सुपरीवेक्षण तथा डा नुरापति पन्थ र डा शशितकुमार यादवको सहसुपरीवेक्षणमा उनको शोधकार्य सम्पन्न भएको हो ।

 

विराटनगरबाटै कम्प्युटेसनल म्याटेरियल्स साइन्सअन्तर्गत क्‌वान्टम कम्प्युटिङको प्रयोग गरी सम्पन्न भएको यो पहिलो विद्यावारिधि अनुसन्धान हो।

 

पोखरेलले आफ्नो शोधमा  पेरोव्स्काइट पदार्थहरू (विशेष क्रिस्टल संरचना भएको पदार्थ)  को यान्त्रिक, इलेक्ट्रोनिक, चुम्बकीय र प्रकाशजन्य गुणहरूको विस्तृत विश्लेषण गरेका छन् । 

 

अनुसन्धानका क्रममा जिरकोनियम सिलिकेट, समेरियम म्याङ्गनाइट तथा स्ट्रन्टियम जिरकोनियम मोलिब्डेनम अक्साइड जस्ता पदार्थहरूमा विभिन्न बाह्य दबाब, तनाव, सतह संरचना र परमाणु प्रतिस्थापनले पार्ने प्रभावबारे वैज्ञानिक गणना गरिएको थियो।

यस अध्ययनबाट प्राप्त नतिजाले ती पदार्थहरूलाई भविष्यमा ऊर्जा, अप्टोइलेक्ट्रोनिक, स्पिन्ट्रोनिक र चुम्बकीय उपकरणहरूमा प्रयोग गर्न सकिने सम्भावना पुष्टि गरेको छ।

 

भौतिकशास्त्र विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेपछि अनुसन्धानको महत्वबारे प्रष्ट पार्दै सुपरीवेक्षक प्राडा देवेन्द्र अधिकारीले विश्वमै उच्च प्राथमिकतामा रहेको क्वान्टम कम्प्युटिङ काठमाडौंमा मात्र सीमित नभई विराटनगरसम्म विस्तार हुनु राष्ट्रिय अनुसन्धान क्षेत्रकै लागि ठूलो उपलब्धि भएको बताए ।

 

केन्द्रीय भौतिकशास्त्र विभाग, काठमाडौंका डा नुरापति पन्थको समन्वयमा केन्द्रीय विभाग र महेन्द्र मोरङ क्याम्पसबीच अत्याधुनिक कम्प्युटेसनल स्रोत तथा सहकार्य अघि बढाइएको छ।

 

हाल महेन्द्र मोरङ क्याम्पसमा उपलब्ध १०-कोरको हाई-पर्फर्मेन्स कम्प्युटिङ सर्भर र २४-कोरको वर्कस्टेसनको सहायताले एक जना पीएचडी शोधार्थीसहित सात जना विद्यार्थीले निरन्तर गणनात्मक अनुसन्धान गरिरहेका छन्।

 

स्थानीय तहमै यस्तो उच्चस्तरीय वैज्ञानिक पूर्वाधार विकास हुनुले विराटनगरलाई कम्प्युटेसनल म्याटेरियल्स साइन्स र  क्‌वान्टम अनुसन्धानको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने क्याम्पसको भौतिकशास्त्र विभागले जनाएको छ।

 

यसअघि महेन्द्र मोरङ क्याम्पसबाट प्राडा अधिकारी र डा रामप्रसाद कोइरालाको नेतृत्वमा ुलिक्विड एलोय मोडलमा चार जनाले विद्यावारिधि गरिसकेका छन्। लिक्वीड एलोयबाट सुरु भएको अनुसन्धान यात्रा अहिले अत्याधुनिक क्‌वान्टम कम्प्युटिङसम्म पुगेको छ।

तस्वीरमा क्रमशः डा नूरापति पन्थ, डा पेशल पोखरेल,  प्राडा देवेन्द्र अधिकारी र  डा शशितकुमार यादव  ।

View : 639

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved