Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका ६ महिनाभित्रमा क्षयरोगका ७९ बिरामीको मृत्यु, दुई हजार २३ नयाँ बिरामी

जुनु भट्टराई
२१ चैत २०८०, बुधवार

विराटनगर । कोशी प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा उपचारमा रहेका ७९ जना क्षयरोगका बिरामीको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ साउन महिनादेखि पुस महिनासम्ममा क्षयरोगका कारण ७९ बिरामीको मृत्यु भएको हो ।

निर्देशनालयका अनुसार गत साउनदेखि पुस महिनाभित्रमा २ हजार २३ नयाँ बिरामीहरु भेटिएका छन्् । क्षयरोगका बिरामीहरुमा ६ सय ५७ जना महिला र १ हजार २ सय ५६ जना पुरुष रहेका छन् । भेटिएका नयाँ बिरामीमध्ये आफै स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल नौ प्रतिशत, निजी अस्पतालमा जाँच गर्दा ३९ दशमलव तीन प्रतिशत र सरकारी अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेका १८ दशमलव चार प्रतिशत रहेका छन् । 

निर्देशनालयका अनुसार कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको पाइएको छ । बिगतका बर्षहरुमा क्षयरोगबाट मृत्यु हुनेको दर ३ प्रतिशत रहेकोमा यसबर्ष भने ४ प्रतिशत पुगेको छ ।  

कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेका छन् । झापा, मोरङ र सुनसरीमा जनघनत्व बढी भएका कारण पनि क्षयरोगका बिरामी बढी भएको निर्देशनालयका क्षयरोग फोकल पर्सन तुलसी गुरागाई बताउँछन् । 

उनका अनुसार  झापामा पाँच सय ७९, मोरङमा पाँच सय २३ र सुनसरीमा चार सय ७९ क्षयरोगी रहेका छन । यस्तै, उदयपुरमा एक सय ४५, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुममा २१, धनकुटामा २३, भोजपुरमा २८, खोटाङमा १६, ओखलढुङ्गामा ५३, सोलुखम्बुमा १६, संखुवासभामा २२ र ताप्लेजुङमा २३ क्षयरोगका बिरामी रहेका छन् । 

क्षयरोगीको पहिचानका लागि जिल्लास्थित स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य संस्थालगायतले स्वयंसेवक नै खटाइएको निर्देशनालयका फोकल पर्सन गुरागाईंले जानकारी दिए ।

कोशी प्रदेशभर क्षयरोगका बिरामीहरुले १ हजार १ सय १४ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको निशुल्क औषधि प्राप्त गर्न सक्छन् भने एक सय ३१ स्थानमा खकार परीक्षण गर्ने प्रयोगशाला रहेका छन् । चार स्थानमा क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह समेत रहेको छ ।

त्यसैगरि झापाको दमक, मोरंगको उर्लावारी लगायतका १९ स्थानमा नयाँ प्रविधि जिन एक्सपर्ट मेसिन रहेको समेत रहेको निर्देशनालयले जनाएको छ । १४ जिल्लामध्ये सोलुखुम्बु र तेहृथुममा भने उक्त मेसिन पुर्‍याउन नसकिएको निर्देशनालयले जनाएको छ ।  

धेरै रोगी भएका जिल्लाहरुमा उक्त मेसिन २/३ वटा पनि छन्, गुरागाईले भने— ‘जहाँ धेरै छन् त्यस्ता ठाँउलाई प्राथमिकतामा राखिएकाले दुई जिल्लामा भने उक्त मेसिन पुर्‍याउन सकिएको छैन, अव चाडैं त्यहाँ पनि पुग्छ ।’

सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ ।

बिरामीले खोक्दा, हाच्छ्यु गर्दा कीटाणु निरोगी व्यक्तिको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुन्छ । समयमै क्षयरोगको पहिचान गरी उपचार गर्न सकेमा मृत्युदर घटाउन सकिने क्षयरोग फोकल पर्सन गुरागाई बताउँछन् । उनले क्षयरोगको नियन्त्रण र अन्त्य गर्न बसाइसराई, नियमित औषधि सेवन नगर्नु, आइसोलेसन वार्डहरू पर्याप्त नहुनु, ढिलो परीक्षण गराउनु लगायतका चुनौती रहेको बताए ।

लुकेर बसेका क्षयरोगी पत्ता लागेमा बिरामी चाडैं निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबैभन्दा सबल पक्षका रुपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनले बताए ।

निर्देशनालयका अनुसार कोशी प्रदेशमा क्षयरोगीका सबै संक्रमितहरु सम्पर्कमा आउन सकेका छैनन । प्रदेशमा अनुमानित क्षयरोगका संक्रमितमध्ये सबै उपचारको दायरामा नआइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन गुरागाईले प्रदेशमा लक्ष्य अनुसारका नयाँ क्षयरोगका बिरामी पहिचान हुन नसकेको स्विकारे । 

समाजमा चेतना नहुनु, निजी अस्पतालमा पत्ता लागेका बिरामीहरूलाई सरकारी अस्पतालमा लैजान नसक्नु लगायतका समस्याले लक्ष्य अनुसारको नयाँ बिरामी पहिचान गर्न नसकिएको उनले बताए । सबै क्षयरोगका बिरामीहरुको पहिचान गरी उपचारको दायरामा ल्याए क्षयरोगको अन्त्य गर्न सकिने  उनी बताउँछन् । 

क्षयरोगबाट हुने बिरामी र मृत्यु दरलाई घटाई रोग सर्ने प्रक्रियालाई रोकी सन् २०३५ सम्ममा क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहन नदिने सरकारको लक्ष्य रहेको छ ।

View : 149

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved