Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

चोरीको उदेश्यले घरको छतमा पुगेका व्यक्तिको लडेर मृत्यु

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगरमा अर्काको घरमा प्रवेश गरेका एक अपरिचित ब्यक्तिको तीन तलामाथिबाट खसेर आइतबार मृत्यु भएको छ । 

विराटनगर–४ गणेशचोकको एक घरमा चढेका ब्यक्तिलाई देखेर स्थानीयले चोर, चोर भनेर हल्ला गरेपछि उनी भाग्नका लागि घरको छतबाट हामफालेको बताइएको छ । स्थानीय पुरुषोत्तम न्यौपानेको घरमा आइतबार राति सवा १२ बजे देखिएका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको लडेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्ति अर्को घरबाट माथि चढेर न्यौपानेको माथिल्लो तलामा पुगेका थिए । न्यौपाने परिवारले थाहा पाएर होहल्ला गरेपछि स्थानीय भेला भए । त्यहाँबाट भाग्न खोजेका ती ब्यक्ति तल पछारिएका हुन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले माथिबाट लड्दा ती ब्यक्तिको अनुहार क्षतबिक्षत भएको छ । क्षतबिक्षत भएकाले उनी को हुन् भनेर मृतकको अनुहारसहितको फोटो सार्वजनिक गर्ने अवस्थासमेत छैन । उनको पहिचानका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनको शव कोशी अस्पतालमा राखिएको छ । कोही ब्यक्ति बेपत्ता भएको भन्ने खबर प्रहरीसम्म आएको छैन । 

मृतक चोरी गर्ने उद्देश्यले नै अरुको घरमा मध्यरातमा चढेको र लडेर मृत्यु भएको भए तिनका आफन्तले थाहा पाएर पनि वास्ता नगरेको हुनसक्ने बताइएको छ ।

गणेशचोक आसपासमा पछिल्ला दिनमा चोरीका घटना हुन थालेकाले स्थानीय चनाखो भएर राति सुत्ने गरेको स्थानीयवासीले बताएका छन् । विराटनगरमा दिउँसो तथा राति हरेक दिन कुनै न कुनै घरमा चोरी भएको गुनासो प्रहरीमा पुग्ने गरेको छ । 

दुई दिनअघि मेनरोडस्थित श्याम सैलुनका तीन वटा ताला फुटाएर नगद र महंगा सामान चोरी भएको थियो ।

View : 16

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved