विराटनगर । उद्योग क्षेत्रमा सुरक्षित र प्रभावकारी उत्पादन प्रणाली सुनिश्चित गर्न दक्ष प्राविधिक जनशक्ति आवश्यक हुने भन्दै उद्योग संगठन मोरङले संचालन गरेको बोइलर सञ्चालनसम्बन्धी तालिम समापन गरेको छ । संगठनले सञ्चालन गरेको १५ दिने बोइलर तालिम बिहीबार सम्पन्न भएको हो ।
इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा बागमती आयल इण्डष्ट्रिजसँगको सहकार्यमा आयोजित उक्त तालिम कटहरी क्षेत्रका विभिन्न उद्योग–प्रतिष्ठानमा कार्यरत ३० जना प्राविधिकहरूको सहभागिता रहेको थियो ।
चैत ४ गतेदेखि सुरु भएको तालिमले सहभागीहरूको सीप र दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको संगठनले जनाएको छ ।
तालिममा बोइलर सञ्चालनका आधारभूत सिद्धान्तदेखि लिएर व्यवहारिक प्रयोगसम्मका विषय समेटिएका थिए ।
विशेषगरी सुरक्षित सञ्चालन विधि, अन्तर्राष्ट्रियस्तरका सुरक्षा मापदण्ड, इन्धनको प्रभावकारी प्रयोग, ऊर्जा दक्षता वृद्धि गर्ने उपाय, नियमित मर्मतसम्भार र आपतकालीन अवस्थाको व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।
यसले उद्योगमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै उत्पादन प्रक्रियालाई थप सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिम समापन कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छाले औद्योगिक क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले उक्त अभाव पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले सुरक्षित र गुणस्तरीय उत्पादनका लागि सीपयुक्त जनशक्ति अपरिहार्य रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
त्यसैगरी संगठनका कार्यसमिति सदस्य तथा मानव संसाधन समितिका संयोजक दीपक अग्रवालले तालिमले सहभागीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै कार्यक्षमतामा समेत सुधार ल्याएको धारणा व्यक्त गरे ।
उद्योग क्षेत्रको मागअनुसार लक्षित तालिम सञ्चालन गर्दै प्राविधिक जनशक्तिलाई सक्षम बनाउने दिशामा संगठनले निरन्तर पहल गरिरहेको उनको भनाइ थियो ।
उद्योग क्षेत्रमा सुरक्षा, दक्षता र उत्पादनशीलता बढाउने लक्ष्यसहित सञ्चालन गरिएको यस्ता तालिमहरूले दीर्घकालीन रूपमा औद्योगिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
View : 144
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved