विराटनगर । जिल्ला सहकारी सङ्घ मोरङको आयोजनामा विराटनगरमा शनिबार एक दिवसीय तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ। '
स्नायु प्रणालीको भाषिक व्यवहार (एनएलपी) द्वारा तनाव व्यवस्थापन' विषयक उक्त तालिम शनिबार सम्पन्न भएको हो।
‘उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो तालिमको मुख्य उद्देश्य सहकारी क्षेत्रमा काम गर्ने व्यक्तिहरूको मानसिक तनावलाई व्यवस्थापन गर्दै उनीहरूमा सकारात्मक सोच र कार्यकुशलता अभिवृद्धि गराउनु रहेको थियो।
पछिल्लो समयमा सहकारी क्षेत्रमा भइरहेको एकपछि अर्को निरन्तर प्रहारलाई सामना गरी अझ सशक्त रूपमा अगाडि बढ्न सहज होस् भन्ने हेतुले सहकारी सञ्चालकहरूलाई यो तालिम दिइएको हो।
जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष राकेश दाहालको अध्यक्षता तथा सङ्घका सदस्य सूर्यकुमार दाहालको संयोजकत्वमा सो तालिम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले तालिमले सहकारीमा सञ्चालकहरूभित्रका कमजोरी हटाई सकारात्मक सोचका साथ अघि बढ्न मद्दत पुग्ने धारणा राखे।
त्यस्तै, अध्यक्ष दाहालले यस प्रकारको तालिमले सञ्चालकहरूलाई परिस्थितिको सामना गर्न थप सबल र सक्षम बनाउने विश्वास व्यक्त गरे।
उक्त एक दिवसीय तालिममा तनाव व्यवस्थापन विज्ञ प्राध्यापक रामराजप्रताप भण्डारीले प्रशिक्षण दिएका थिए।
उनले स्नायुगत भाषिक व्यवहार र बानीको माध्यमबाट कार्यक्षेत्र र व्यक्तिगत जीवनमा आइपर्ने तनावलाई कसरी व्यवस्थापन गर्ने र उत्पादकत्व कसरी बढाउने भन्ने विषयमा सहभागीहरूलाई प्रयोगात्मक अभ्याससहित सहजीकरण गरेका थिए।
तालिममा जिल्ला सहकारी सङ्घ लि. मोरङका अधिकाङ्श सञ्चालकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोशी प्रदेश सहकारी सङ्घका अध्यक्ष डा. डिल्ली पोखरेल, डा. उद्धव पोखरेल, सङ्घ मोरङका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद भट्टराई, कोषाध्यक्ष ई. कमलेश्वर ठाकुर, लेखा समिति संयोजक दुर्गाप्रसाद गौतम , सल्लाहकार वीरेन्द्र यादव र जिल्ला बचत सङ्घ मोरङका सदस्य गणेश निरौला लगायतका व्यक्तित्वहरूको सहभागिता थियो।
साथै, मोरङका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको पनि उत्साहजनक उपस्थिति थियो।
जसमा जनमैत्री सहकारीका गोपाल धिताल, बृहतका योगेन्द्र साह, सौगातका अनुप स्याङ्बो, बुद्धोदयका राजेन्द्र खनाल, लाभान्वितका समकुमार साह, नेपाः बहुउद्देश्यीयका मस्तराम प्रधानाङ्ग र ग्याम्बिटका जितेन्द्र झा, कोपिला रिमाल, अनु खनाल लगायतको सहभागिता रहेको थियो।
सहकारीकर्मीहरूको क्षमता विकास र मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरिएको सो तालिमले सहभागीहरूलाई आफ्नो कार्यक्षेत्रमा थप ऊर्जावान् र पारदर्शी रूपमा काम गर्न मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।
View : 243
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved