विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पूर्व माओवादी नेता सुदन किरातीलाई पार्टीमा भित्र्याउने भएको छ ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेस, एमाले, नेकपासहितका धेरै दललाई पछाडि पार्दै दोस्रो बनेको श्रम संस्कृतिले किरातीलाई पार्टीको वरिष्ठ नेता तथा कोशी प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा अघि सार्ने गरी स्वागतको तयारी गरेको हो ।
बिहीबार ललितपुरको नख्खीपोटस्थित किरात राई यायोख्खाको भवनमा भएको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा यो विषयले प्रवेश पाएको छ ।
औपचारिक रूपमा समसामयिक राजनीतिक अवस्थामाथि छलफल गर्न बोलाइएको भनिएपनि बैठकको वास्तविक केन्द्रबिन्दु भने सम्भावित राजनीतिक ध्रुवीकरणतर्फ केन्द्रित देखिएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले जानकारी दिएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका सुदन किरातीलाई पार्टीमा ल्याउँदा कोशी पहाडमा प्रभाव झनै बढ्ने आंकलन अध्यक्ष हर्क साम्पाङले बैठकमा बताएको एक केन्द्रीय सदस्यले बताए ।
केही दिनअघि मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका किराती अहिले कुनै पनि दलमा छैनन् । तर, उनको भावी राजनीतिक गन्तव्यबारे धेरै अनुमान भइरहेका छन् । यस्तो बेलामा उनलाई हर्कले स्वागत गर्ने तयारी गरिरहेका हुन् ।
केन्द्रीय बैठकमा सहभागी ती सदस्यले भने ‘किरातीजीलाई कसरी र कुन संरचनाबाट भित्र्याउने भन्ने विषयमा आजको बैठकमा पनि गम्भीर छलफल भइरहेको छ’ उनले थपे, ‘यो केवल व्यक्तिको प्रवेश मात्र होइन, एउटा समूह र अनुभवको आगमन पनि हो । त्यसैले छलफल जारी छ ।’
श्रम संस्कृति पार्टी र सुदन किरातीबीच पछिल्लो समय भएको संवादले सहकार्यको आधार तयार गरिसकेको दुवै पक्षका नेताहरूको दाबी छ । पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले सहकार्यको अवस्था निकै नजिक पुगेको संकेत गरे ।
‘दुवै पक्षबीच निरन्तर संवाद भइरहेको छ,’ उनले भने, ‘सहकार्यको एकदमै नजिक पुगिसकेका छौं ।’ चुडालका अनुसार, वैचारिक धरातल स्पष्ट पार्ने काम अहिले प्राथमिकतामा छ ।
‘उत्पादनमुखी समाजवादी अर्थतन्त्र निर्माण गर्ने साझा लक्ष्यतर्फ हामी सहमत हुन सक्छौं,’ उनले भने, ‘हाम्रो पार्टीले अघि बढाइरहेको श्रमदान अभियान पनि त्यही दिशासँग जोडिएको छ ।’
उनले भावनात्मक रूपमा पनि दुवै पक्ष पहिलेबाट नजिक रहेको उल्लेख गर्दै थपे, ‘पहिलेदेखि नै साझा सोच र भावना रहेकाले अहिलेको छलफल निचोडतर्फ उन्मुख छ ।’
सहकार्य भएमा किराती एक्लै नभई आफ्नो टिमसहित पार्टीमा प्रवेश गर्ने सम्भावना बलियो देखिएको उनको भनाइ छ । प्रारम्भिक चरणमा किराती समूहबाट करिब १५ जना केन्द्रीय सदस्य बन्ने र तीनदेखि चार जनासम्म पदाधिकारीमा समावेश हुने तयारी छ ।
किरातीलाई भने वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि बढाइएको छ । यद्यपि, पद र जिम्मेवारीभन्दा पनि वैचारिक एकता महत्वपूर्ण रहेको पार्टी नेतृत्वको भनाइ छ ।
चुडाल भन्छन्, ‘एकीकरणपछि कसले कहाँबाट चुनाव लड्ने वा के बन्ने भन्ने कुरा पछि टुंगिन्छ । अहिले मुख्य कुरा विचार हो ।’
पार्टीभित्रै भने किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा अघि सार्ने सम्भावनाबारे पनि चर्चा चलिरहेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा रास्वपापछि दोस्रो भएको श्रम संस्कृतिले कोशी पहाडमा रास्वपा लहरमा ब्रेक लगाइदिएको थियो ।
प्रदेशको आगामी निर्वाचनमा श्रम संस्कृतिले कोशीमा एकल सरकार बनाउने सम्भावना प्रबल रहेको बताउनेहरू धेरै छन् ।
यस्तो अवस्थामा सुदनलाई भित्र्याउदा प्रभाव बढ्ने आंकलन हर्क लगायतका नेताहरूको छ । यद्यपि यसबारे औपचारिक निर्णय भइसकेको छैन । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पनि किरातीसँगको संवाद जारी रहेको पुष्टि गरे ।
‘उहाँलाई पार्टीमा ल्याउने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा पटकपटक संवाद भइरहेको छ ।’
सुदन किराती स्वयंले भने अन्तिम निर्णय नगरेको बताएका छन् ।
‘विभिन्न चरणमा छलफल भएको सत्य हो,’ उनले भने, ‘तर म अझै कुनै निष्कर्षमा पुगेको छैन, भेटघाट र सल्लाहमै छु ।’ तर, उनले भविष्यको राजनीतिक यात्रा श्रम संस्कृतिसँग जोडिन सक्ने संकेत भने गरेका छन् ।
पाँच महिनाअघि मात्र माओवादी परित्याग गरेर जनार्दन शर्मासँगै नयाँ राजनीतिक प्रयोगका रूपमा प्रलोपा गठन गरेका उनी, त्यसले अपेक्षित सफलता नआएपछि पुनः नयाँ विकल्पतर्फ उन्मुख भएका हुन् ।
चुनावअघि ठूलो आशासहित गठन गरिएको प्रलोपा निर्वाचन नतिजासँगै कमजोर सावित भयो । पार्टीले एक सिट पनि जित्न सकेन । प्रमुख नेताहरू नै पराजित भए ।
किराती स्वयंले उम्मेदवारी नै दिएनन् । बरु, उनले आफ्नै क्षेत्र भोजपुर र धरानमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई खुलेर समर्थन गरे ।
भोजपुरमा त उनी घरदैलोमै पुगेर श्रम संस्कृतिकै उम्मेदवारका लागि मत मागिरहेका देखिएका थिए । त्यसले उनको झुकाव स्पष्ट बनाएको थियो ।
त्यतिबेलादेखि नै किराती र श्रम संस्कृति पार्टीबीचको दूरी घट्दै गएको देखिन्छ । प्रारम्भमा उपाध्यक्ष लगायतका पद प्रस्ताव गरिएको भए पनि किरातीले त्यसमा रुचि नदेखाएपछि वरिष्ठ नेताको प्रस्ताव अघि सारिएको हो ।
यी दुई नेताबीचको सम्भावित एकीकरण दुवै पक्षका लागि लाभदायक हुन सक्ने भन्दै श्रम संस्कृतिका नेताहरूले चाँडै टुंगो लाग्ने बताएका छन् ।
हर्क साम्पाङको लोकप्रियता र जनआधार बलियो भए पनि संगठन सञ्चालनमा अनुभव भएका नेताको अभाव देखिदै आएको छ । त्यही खाली स्थान किरातीले पूर्ति गर्न सक्ने आ“कलन गरिएको छ ।
श्रम संस्कृतिको विधानअनुसार १३३ सदस्यीय केन्द्रीय समिति र २०० सदस्यीय केन्द्रीय सभाको परिकल्पना गरिएको छ । हाल भने केन्द्रीय समिति २८ सदस्यीय छ, जसलाई विस्तार गर्ने तयारी भइरहेको छ ।
श्रम संस्कृति पार्टी र सुदन किरातीबीचको सम्भावित एकताले कोशी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमै प्रभाव पार्न सक्छ ।
View : 164
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved