फाइल फोटो ।
विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किदै गएको बेला संस्थापन इतर समूहले कोशी प्रदेशमा गुट भेला आयोजना गर्न लागेको छ ।
‘बृहत् एकता, साझा प्रतिबद्धता’ नाराका साथ आइतबार विराटनगरमा हुने उक्त भेलालाई इतर समूहले आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी भएको नेताहरूको भनाइ छ ।
कोशीमा यसअघि विरलै मात्रै संयुक्त कार्यक्रम गर्दै आएका शेरबहादुर देउवा र शेखर कोइराला पक्षले संयुक्त कार्यक्रम गर्ने भएका छन् ।
भेलाको प्रमुख अतिथि डा. शेखर कोइराला रहने छन् भने नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद र राजीव कोइरालालगायत नेताहरू प्रमुख वक्ताको रूपमा सहभागी हुने भनेर प्रचार सामग्री बनाइएको छ । यद्यपि राजीव कोइराला भने अहिले केन्द्रीय सदस्य छन् ।
केन्द्रीय सदस्यमा मनोनित भएका उनले पार्टी सदस्यतासमेत अद्यावधिक ग्रिसकेका छन् । भेलामा उनको सहभागिता हुन्छ कि हुन्न भन्ने टुंगो नभएको नेताहरू बताउँछन् ।
भेलामा कोशी प्रदेशका विभिन्न जिल्ला, पालिका र वडाका इतर समूह निकट पदाधिकारी तथा कार्यकर्तालाई आमन्त्रण गरिएको छ । कांग्रेसमा गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि विवाद तीव्र छ ।
शेरबहादुर र शेखर समूहले पार्टीमा नयाँ नेतृत्वले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले देशैभरी गुट भेला आयोजना गर्दै आएका छन् ।
कोशीमा संस्थापन इतर पक्षले भेला आयोजना गर्न लागेको यो दोस्रोपटक हो । यसअघि विराटनगरमा जेठ पहिलो साता आयोजना भएको भेलामा नेता कृष्णप्रसाद सिटौला मुख्य वक्ता बनेर आएका थिए । तर, भेलामा सिटौला निकट नेताहरू नै अनुपस्थित थिए ।
सहभागी संख्या ज्यादै थोरै भएपछि नेता सिटौलाले जेठ १० मा ठूलो भेला गर्न र पार्टी सदस्यता अद्यावधिक नगर्न भनेका थिए ।
तर, जेठ १० मा संस्थापनइतर पक्षले सुदुरपश्चिम भेला गरेको थियो । अहिले कोइराला र देउवा दुवै पक्षले मिलेर भेला गर्न लागेका हुन् ।
कांग्रेस केन्द्रीय समितिले पार्टी क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम म्याद जेठ २८ अर्थात् बुधबार राति १२ बजेसम्मलाई तोकेको छ ।
केन्द्रले अन्तिम म्याद दिएको समयमै इतर पक्षले प्रदेश भेला आयोजना गर्न लागेको हो ।
View : 183
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved