Biratnagar, Morang, Nepal
५ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीको निवासमा मध्यरातमा किन छिर्यो प्रहरी ?

उद्‌घोष संवाददाता
५ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा प्रहरीले बिहीबार मध्यरातमा छापा मारेको छ ।

विराटनगर-३ ल क्याम्पस छेउमा  रहेको मन्त्री पराजुलीको  क्वाटरमा राती ११ बजेतिर प्रहरी प्रवेश गरेर खानतलासी लिएको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ ।

धनकुटाबाट प्रदेशसभामा दोस्रोपटक निर्वाचित एमाले नेता पराजुलीको निवासमा प्रहरीले किन छापा मारेको भन्ने खुलेको छैन। मन्त्री पराजुली भने विराटनगर बाहिर रहेकाले यसबारे खुलेर बोल्न चाहेनन् ।

"म त बाहिर संखुवासभातिर छु । खै छरछिमेकीले पुलिस आएर के के गर्यो भन्ने जानकारी गराउनु भयो । प्रहरीलाई नै बुझुम न' उनले भने ।

मन्त्री निवासमा रहेका एक कर्मचारीका अनुसार राती ११ बजेतिर आएको प्रहरीको एक समुहले निवासका कोठा कोठामा तलासी लिएको थियो ।

मन्त्रीको निवासमा प्रहरीले खानतलासी गरेको विषय प्रतिनिधिसभामै उठेको छ ।

शुक्रवारको बैठकमा धनकुटाका सासद राजेन्द्र राइले यो कुरा उठाएका छन् ।

यसबारेमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई मन्त्री निवासमा प्रहरीले किन छापा मारेको हो ? भनेर सोधेको छ ।

जवाफमा उनले छापा मारेको भन्न अस्विकार गरे ।

"गलत प्रचार भयो, हामीले छापा मारेको होइन, एक जना व्यक्ति त्यहाँ लुकेर बसेको भन्ने सूचना आएपछि प्रहरी गएको हो," एसपी कटुवालले भने " प्रहरी भित्र पसेन । बाहिरबाटै फर्क्यो।"

उनले सूचना सही नभएका कारण प्रहरी निवासभित्र नपसेको दाबी गरे । भित्र प्रवेश नगरी कोही व्यक्ति लुकेको नलुकेको कसरी थाहा भयो भन्नेबारे प्रहरीले केही बताउन चाहेन ।

गृहमन्त्री सुधन गुरुङले पहिलोपटक गृहमन्त्री बन्नु भन्दा दुई दिन अघि धनकुटामा २० रोपनी जग्गा किनेका थिए ।

View : 55

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved