Biratnagar, Morang, Nepal
१४ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा

उद्‌घोष संवाददाता
१३ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना तथा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार भारत सरकारको सहयोगमा भारतीय राजदूतावास, लैनचौरसँग २०७७ असोज १४ गते भएको सम्झौताअनुसार वडा नम्बर ५ का बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त भएको एम्बुलेन्सलाई यादवले वडा कार्यालयको जिन्सी अभिलेखमा समेत दाखिला नगरी आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेका थिए ।

अनुसन्धानबाट सो एम्बुलेन्स सञ्चालनसम्बन्धी कुनै पनि आधिकारिक लगबुक, सेवा विवरण, इन्धन खर्च, निःशुल्क तथा शुल्क लिएर गरिएको सेवाको अभिलेख वा आय–व्ययको हिसाब नगरपालिकामा पेश नगरेको खुलेको अख्तियारले जनाएको छ । 

सार्वजनिक सम्पत्तिलाई निजी सवारीसाधनसरह प्रयोग गर्दै व्यक्तिगत लाभ लिने उद्देश्यले एम्बुलेन्स सञ्चालन गरिएको आयोगको निष्कर्ष छ ।

अख्तियारका अनुसार यादवले करिब ३ वर्ष ५ महिनाको अवधिमा ३० हजार १८५ किलोमिटर एम्बुलेन्स सञ्चालन गरेका थिए । 

नेपाल रेडक्रस सोसाइटी धनुषाले २०७८ जेठ ४ गते प्रकाशित गरेको एम्बुलेन्स सेवाको जिल्ला दररेटका आधारमा कच्ची सडकमा सञ्चालन गरेको भाडा हिसाब गर्दा १५ लाख ९ हजार २५० बराबरको सार्वजनिक सम्पत्ति हिनामिना तथा सरकारी राजस्वमा नोक्सानी भएको अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ ।

यस आधारमा अख्तियारले सार्वजनिक सम्पत्तिको दुरुपयोग, हिनामिना तथा गैरकानुनी लाभ लिएको आरोपमा भ्रष्टाचार निवारण ऐनबमोजिम सजाय र बिगो असुलउपरको माग गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved