विराटनगर । अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गतको पाँचतारे स्तरको होटल लेमन ट्री प्रिमियमले विराटनगरबाट औपचारिक व्यावसायिक सेवा सुरु गरेको जनाएको छ ।
दिल्ली मुख्यालय रहेको यो होटलले आफ्नो व्यवस्थापनमा व्यावसायिक सेवा विराटनगरमा पनि सुरु भएको जानकारी दिएको हो ।
यसअघि सफ्ट ओपनिङ मात्र गरेको होटल अब भने औपचारिक रुपमै सुरु भएको होटल व्यवस्थापन कम्पनी लेमन ट्रीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
भारतीय आतिथ्य समूह लेमन ट्री होटल्सअन्तर्गत सञ्चालनमा आएको यो होटल नेपालमा तेस्रो तथा विराटनगरमा पहिलो भएको कम्पनीले जनाएको छ ।
विराटनगर–५ भृकुटी चोकस्थित यो होटलका लागि चार युवा उद्यमीले भौतिक संरचना बनाई चेन हस्पिटलअन्तर्गत होटल व्यवस्थापन भने भारतस्थित लेमन ट्री समूहलाई दिएका हुन् ।
यो होटलमा युवा उद्यमीहरू मनोजविक्रम शाह, कबिन श्रेष्ठ, विकास चौधरी र प्रशान्त तातेडको करिब दुई अर्ब रुपैयाँ लगानी छ ।
८० वटा कोठासहित सञ्चालनमा आएको होटलमा प्रेसिडेन्सियल सुइट, सुइट रुम, सुपर डिलक्स र डिलक्स श्रेणीका आवासीय सुविधा उपलब्ध छन् ।
होटलमा कम्पनीको सिग्नेचर प्यान–एसियन रेष्टुरेन्ट ‘रिपब्लिक अफ नुडल्स’, चौबीसै घण्टा सञ्चालन हुने ‘सिट्रस क्याफे’, मनोरञ्जनात्मक बार ‘स्लाउञ्ज’ तथा ‘टी लाउञ्ज’ सञ्चालनमा रहने बताइएको छ ।
कम्पनीका अनुसार, व्यापारिक तथा सामाजिक कार्यक्रमका लागि ‘ट्याङ्गरिन’ बलरुम, प्रि–फङ्सन क्षेत्र र बोर्डरुमसहितका सुविधा उपलब्ध हुनेछ ।
व्यावसायिक सम्मेलन, विवाह तथा ठूला कार्यक्रमलाई लक्षित गर्दै होटलमा करिब दुई हजार जना अट्ने ब्याङ्कवेट हल भने निर्माणाधीन छ । जुन सञ्चालनकै क्रममा तयार भइसक्ने सञ्चालक कबिन श्रेष्ठले बताए ।
होटलमा स्पा, सोना बाथ, फिटनेस सेन्टर तथा अत्याधुनिक ‘फायर फाइटिङ सिस्टम’ जडान गरिएको छ ।
पाँचतारे होटलको सम्पूर्ण मापदण्ड पूरा गरिएको दाबी गर्दै सञ्चालक श्रेष्ठले सरकारी स्वीकृतिपछि क्यासिनो सेवा पनि सञ्चालन गरिने बताएका छन् ।
यसैबीच, होटल उद्घाटनका अवसरमा लेमन ट्री होटल्स लिमिटेडका अध्यक्ष विश्वप्रीत सिंह चिमाले विराटनगर नेपालका लागि व्यापारिक मुटुका रूपमा स्थापित भएको उल्लेख गर्दै यसको आधुनिक क्षेत्रीय प्रवेशद्वारका रूपमा भइरहेको विकास यात्रामा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले शहरको पूर्वाधार र कनेक्टिभिटी विस्तारसँगै गुणस्तरीय आतिथ्य सेवाको आवश्यकता बढेको बताउँदै लेमन ट्री प्रिमियरले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउने बताए ।
अन्तर्राष्ट्रिय होटल ब्रान्डको आगमनसँगै विराटनगरमा व्यापारिक गतिविधि, सम्मेलन पर्यटन तथा भारतीय पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
View : 236
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved