विराटनगर । आजबाट उद्घोष दैनिक २२ औं वर्षमा प्रवेश गरेको छ । २०४७ सालमा प्रजातन्त्र पुनर्वहाली भएपछि संस्थागत रूपमा पत्रकारिता गर्ने वातावरण बन्दै जाँदा ‘उद्घोष साप्ताहिक’को प्रकाशन सुरु भएको थियो ।
केही समयको अवरोधपछि त्यही विरासतलाई पुनर्जीवित गर्दै २०६२ भदौ २ गतेदेखि उद्घोष दैनिकका रूपमा नयाँ यात्रा सुरु भएको हो ।
तत्कालीन समयमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शाही–शासनकालमै दैनिक पत्रिका यात्रा सुरु गरेको उद्घोषले समाचार र सूचनाको माध्यमबाट २०६३ सालको जनआन्दोलनमा विशेष भूमिका निर्वाह गरेको थियोे ।
त्यसबेला आन्दोलनका महत्वपूर्ण दिनहरूमा सन्ध्याकालीन अंकसमेत प्रकाशन गरेर दिनभरिका घटनाक्रम पाठकसमक्ष पु¥याउने प्रयास गरिएको थियो । त्यो समय आजजस्तो सूचना र प्रविधिको सहजता थिएन ।
विश्वसनीय समाचार पाठकहरुमाझ पु¥याउने दायित्वबोधले हामीलाई त्यसरी निरन्तर सक्रिय तुल्याएको थियो ।
२०६२ भदौ २ देखि २०८३ भदौ २ गतेसम्म ६,९८५ अंक प्रकाशन हुनु उद्घोषको निरन्तरता र प्रतिबद्धताको प्रमाण हो । प्रेस काउन्सिल नेपालको वर्गीकरणमा दुई दशकदेखि निरन्तर ‘क’ वर्गमा रहनुलाई हामीले पत्रकारिताप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि ठानेका छौं ।
छापा माध्यमसँगै अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जालमार्फत पाठकसँग जोडिने प्रयासलाई पनि हामीले निरन्तर विस्तार गरिरहेका छौं ।
आजको चुनौती विगतको भन्दा फरक छ । डिजिटल मिडिया र सामाजिक सञ्जालले सूचनाको संसारलाई तीव्र बनाएको छ ।
पाठकको हातमा मोबाइल पुगेको छ र समाचार क्षणभरमै फैलिन्छ । यस्तो अवस्थामा प्रिन्ट मिडियाको अस्तित्व र निरन्तरता आफैमा चुनौती बनेको छ । यद्यपि छिटो सूचना मात्र पर्याप्त हुँदैन ।
तथ्यको पुष्टि, विश्वसनीयता र उत्तरदायित्व पत्रकारिताका आधारभूत मूल्य हुन् ।
प्रिन्ट मिडिया भनेको इतिहासको दस्तावेज पनि हो । यिनै मूल्य र मान्यताका कारण संस्थागत र जिम्मेवार प्रिन्ट मिडियाको आवश्यकता अझै पनि उत्तिकै छ भन्ने हाम्रो बुझाइ छ ।
प्रविधिले ल्याउने चुनौतीसँगै नेपाली सञ्चार क्षेत्रले अर्को गम्भीर समस्या पनि भोगिरहेको छ–सरकारी विज्ञापनको वितरणमा हुने अंकुश, असमानता र चलखेल ।
राज्यको सूचना नागरिकसम्म पु¥याउने जिम्मेवारी बोकेका सञ्चारमाध्यमलाई राज्यकै विज्ञापन नीतिले कमजोर बनाउने अवस्था कुनै पनि दृष्टिले राम्रो मान्न सकिन्न । सञ्चारमाध्यमलाई दिइने विज्ञापन कसैको कृपा वा पुरस्कार होइन, यो त पारदर्शी र न्यायपूर्ण प्रणालीमार्फत प्राप्त गरिने व्यावसायिक अधिकार पनि हो ।
सरकारी विज्ञापनको वितरणमा पहुँच, प्रभाव वा व्यक्तिकेन्द्रित निर्णय हावी हुँदा त्यसको प्रत्यक्ष असर सञ्चारमाध्यमको आर्थिक स्वास्थ्यमा पर्छ ।
सरकारी विज्ञापनको नाममा हुने चलखेलले संस्थागत रूपमा सञ्चालित, सानो संख्यामा भएपनि रोजगारी प्रदान गरेको र नियमित रूपमा बजारमा देखिने सञ्चारमाध्यमलाई निरुत्साहित गरिरहेको छ ।
त्यसैले हाम्रो स्पष्ट मान्यता छ–सरकारी तथा सार्वजनिक निकायका विज्ञापन व्यक्तिको पहुँचबाट होइन, बजारमा नियमित रूपमा देखिने, संस्थागत रूपमा सञ्चालन भएका र पत्रकारिता क्षेत्रमा निरन्तर योगदान गरिरहेका सञ्चारमाध्यमलाई पारदर्शी मापदण्डका आधारमा दिइनुपर्छ ।
उद्घोष दैनिक २२ वर्षको यो यात्रामा पाठकको विश्वासलाई नै आफ्नो सबैभन्दा ठूलो पुँजी मान्दछ ।
आगामी दिनका चुनौती अझै धेरै छन् । तर चुनौतीबाट हामी पछि नहटी समयअनुसार आफूलाई रूपान्तरण गर्दै विश्वसनीय, संस्थागत र जिम्मेवार पत्रकारिताको पक्षमा उभिन दृढ छौं ।
हाम्रो दुई दशकभन्दा लामो यात्रा सम्भव बनाउने पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार, कर्मचारी, वितरक, विक्रेता र सम्पूर्ण सहयोगीप्रति हामी २२औं वर्षसम्मको यस अवसरमा फेरि पनि हार्दिक आभार व्यक्त गर्दै सहयोगको निरन्तरताको अपेक्षा गर्दछौं ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved