विराटनगर । विराटनगरको अतिथि सदन सामुन्नेमा रहेको श्रीसत्यनारायण मन्दिरमा भगवानको दर्शन र पूजापाठ गर्न भक्तजनको सुविधाका लागि एयरकन्डिसन(एसी) जडान गरिने भएको छ ।
उक्त मन्दिरलाई अन्नपूर्ण राठी केबल इन्डस्ट्रिज लिमिटेडले ६ लाख रुपैयाँ बराबरको एसी प्रदान गरेको छ । कम्पनीले दुई टन क्षमताको पाँच थान एयरकन्डिसनसहित साउण्ड सिस्टम बिहीबार हस्तान्तरण गरेको छ ।
अन्नपूर्ण केबलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती सामग्री प्रदान गरेको हो । मन्दिरको गर्भगृहमै एसी जडान हुनेमा सत्यनारायण मन्दिर सम्भवतः विराटनगरको पहिलो हुने दावी गरिएको छ ।
एयर कन्डिसनको जडान खर्चसमेत कम्पनीले बेहोर्ने गरी मन्दिरमा समर्पण गरिएको अन्नपूर्ण राठी केबलका सञ्चालक श्याम राठीले बताए ।
‘उज्यालो समाज र समृद्ध भविष्यका लागि हाम्रो निरन्तर सहयात्रा’ भन्ने नारासहित आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक राठीले सामग्री हस्तान्तरण गर्दै धार्मिक स्थलहरूलाई आधुनिक सुविधा उपलब्ध गराउनु पनि सामाजिक उत्तरदायित्वकै महत्वपूर्ण पक्ष भएको बताए ।
उनका अनुसार असार ३२ गते पर्ने श्रीसत्यनारायण मन्दिरको स्थापना दिवसको अवसर पारेर श्रद्धाभावसहित उक्त सहयोग गरिएको हो ।
मन्दिर व्यवस्थापनका अनुसार एसी जडान भएपछि विशेषगरी गर्मीयाममा दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठानका क्रममा भक्तजनले थप सहज वातावरणमा सेवा लिन सक्ने छन् ।
View : 51
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved