विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता सुरु भएको हो ।
शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागीय टिम आर्मीले अर्को विभागीय टोली एपिएफलाई दुई विकेटले हराउँदै संघर्षपूर्ण जित निकालेको छ ।
टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव तीन बलमा सबै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो ।
जवाफमा १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७ दशमलव २ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो ।
बैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।
यस अघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।
आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गरिएको बताए ।
प्रतियोगितामा भारतको आसाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधि जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।
आइतबार एपिएफ र बागमती प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ ।
View : 67
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved