विराटनगर । कोशी प्रदेश सरकार आज पुनर्गठन हुँदैछ । नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सामेल हुन लागेको हो ।
मन्त्री बन्न चाहने सांसदहरूको संख्या धेरै भएका कारण नेकपाले आइतबारसम्म पनि नाम फाइनल गर्न सकेको छैन ।
प्रदेश सरकारमा मन्त्रीको नाम चयन गर्ने अन्तिम अधिकार लिएका तीन नेताहरूका अनुसार सोमबार बिहान मात्रै मन्त्रीहरूको नाम टुंगो लाग्नेछ ।
नेकपा कोशीका इञ्चार्जसमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता इन्द्र आङ्बो र पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई मन्त्रीको नाम टुंगो लगाउन पार्टीले जिम्मा दिएको छ ।
दलका नेता इन्द्र आङ्बोले भने ‘दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको सपथ हुन्छ ।’
उनका अनुसार आइतबार साँझसम्म नेकपाले मन्त्री बन्ने चार जना सांसदको नाम टुंगो लागेको थिएन ।
‘प्रदेश इञ्चार्ज, अध्यक्ष र दलको नेता बसेर नाम टुंगो लगाउने तयारी छ ।
मन्त्रीहरूको सपथअघि मुख्यमन्त्री हिक्मत कार्कीसहितको टोलीसँग बसेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी छ ।
त्यसक्रममा एमालेले अहिलेकै मन्त्रीहरूलाई निरन्तरता दिने तयारी गरेको छ । यद्यपि एमालेका मन्त्रीहरूले सम्हालिरहेको मन्त्रालयको जिम्मेवारी भने हेरफेर हुनसक्ने एमाले नेताहरूको भनाइ छ ।
साउन ९ मा ३ बुँदे सहमति गरेर प्रदेशमा सत्ता सहयात्रा गर्ने निर्णयमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच ३ बुँदे सहमति कार्यान्वयनका लागि फेरि ५ बुँदे सहमति भएको थियो ।
जसअनुसार प्रदेशमा मुख्यमन्त्री नपाएको दलले पहिलो मन्त्रालय रोज्नेछ । त्यसपछि मुख्यमन्त्री पाएको दलले मन्त्रालय रोज्नेछ । यही सहमति अनुसार मन्त्रालय भागबण्डा गर्न यी दुवै दलले मन्त्रालयहरूको विकल्प पनि तयार पारेका छन् ।
नेकपाले कोशीमा आर्थिक मामिला र भौतिक पूर्वाधारमध्ये एउटा मन्त्रालय रोज्नेछ भने एमालेले वन वातावरण तथा पर्यटन र खानेपानी तथा सिञ्चाई मन्त्रालयमध्ये एउटा रोज्नेछ ।
त्यसैगरी नेकपाले सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमध्ये एउटा रोज्नेछ भने एमालेले कृषि र आन्तरिक मामिला मन्त्रालयमध्ये एक मन्त्रालय रोज्ने सहमति भएको नेता आङ्बोले जानकारी दिए ।
यसअघि मन्त्री बन्न रहर गर्ने आकांक्षीहरूको लर्को लागेपछि नेपाली (नेकपा कोशी संसदीय दलको शनिबारको बैठक मन्त्रीको नाम टुंगो नलगाई सकिएको थियो ।
कोशीमा नेकपाले ४ मन्त्रालय पाउनेछ । ४ मन्त्रालयका लागि नेकपाका १५ जना सांसदले दाबी गरिरहेका छन् ।
नेकपामा पनि साविक माओवादीलाई ३ र साविक एकीकृत समाजवादीले एउटा मन्त्रालय पाउने आन्तरिक सहमति छ ।
View : 34
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved