विराटनगर । महिलाको प्रजनन् स्वास्थ्य संरक्षण र समयमै रोग पहिचान गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको विशेष स्वास्थ्य परीक्षण शिविरमा उल्लेख्य सहभागिता देखिएको छ ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा फिस्टुला सम्बन्धी परीक्षण सेवा प्रदान गरिएको शिविरमा एक सय भन्दा बढी महिलाले स्वास्थ्य जाँच गराएका छन् ।
लायन्स क्लब विराटनगर शुभम र लायन्स क्लब विराटनगर हेल्थ प्रोफेशनलको संयुक्त आयोजनामा सम्पन्न शिविर विराटनगर महानगरपालिका र वडा नम्बर १० कार्यालयको समन्वयमा सञ्चालन गरिएको हो ।
शिविरलाई करूणा फाउण्डेसन नेपालको सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
विराटनगर–१० स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी अत्याधुनिक एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो ।
स्वास्थ्यकर्मीका अनुसार यो विधिले प्रारम्भिक चरणमै जोखिम पहिचान गर्न सहयोग गर्ने भएकाले रोगको समयमै उपचार तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ ।
शिविरमा सहभागी महिलाहरूलाई स्तनक्यान्सरका प्रारम्भिक लक्षण, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता, प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा व्यक्तिगत सरसफाइका विषयमा परामर्श समेत प्रदान गरिएको थियो ।
स्वास्थ्य विशेषज्ञहरूले पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामाझ देखिने प्रमुख क्यान्सर मध्ये एक भएकाले नियमित परीक्षणलाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिएका छन् ।
शिविरमा आङ खस्ने समस्या र फिस्टुलासम्बन्धी परीक्षणसँगै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था पनि मिलाइएको थियो ।
View : 73
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved