Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लैङ्गिक हिंसा विरुद्ध धनकुटा नगरपालिकाले गर्यो प्रभातफेरी

रविन कटेल
९ मंसिर २०८०, शनिवार

धनकुटा, ९ मंसिर : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिवार बिहान धनकुटामा प्रभातफेरी गरिएको छ । स्थानीय सङ्घसंस्थाहरूसँग समन्वय गरेर धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो ।

अन्तर पार्टी महिला सञ्जाल, महिला पुनस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, वेष्ट नेपाल लगायत सङ्घसंस्थाहरूसँगको समन्वयमा टुँडिखेलबाट सुरु भएको प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गर्यो । तल्लोकोप्चे, बिहीवारे हटिया, माथ्लोकोप्चे, भीमनारायण चोक, विचबजार, हुलाकटोल हुँदै मदनचोकमा पुगेर प्रभातफेरी कोणसभामा परिणत भयो ।

प्रभातफेरिमा धनकुटा नगरपालिकाका कर्मचारी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान, बलात्कार हत्या हिंसा अन्त्य गरौँ, हिंसामुक्त सभ्य समाज निर्माण गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित बजार परिक्रमा गरेका हुन् ।

प्रभातफेरी पश्चात आयोजित सभालाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रमणि श्रेष्ठ, धनकुटा–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, नगरपालिकाकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख फुलमाया तामाङ र वेष्ट नेपालका अध्यक्ष संगीता चापागाईँले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

शनिबारबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत धनकुटामा दीप प्रज्वलन, सडक नाटक, सचेतना कक्षा, अभिभुखिकरण कार्यक्रम लगायत गर्ने तयारी गरिएको छ ।

View : 327

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved