उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र नामथर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई अस्पतालका चिकित्सकले बिहान करिब ११ः४५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन् ।
त्यस्तै, विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम तथा बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । चालकलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved