Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

जीवन विकासद्वारा युनिक नेपाल र मानुषीसँगको मर्जर प्रस्ताव पारित

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई टुंगो लगाएको छ । 

संस्थाको आइतबार सम्पन्न विशेष साधारणसभाले बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित गरेको हो ।

विशेष साधारणसभामा संस्थाका अध्यक्ष बिक्रमराज सुवेदीले प्रस्तुत गरेको जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुसी लघुवित्तको सेयर आदानप्रदान अनुपात क्रमशः १ः१ः०.८१ कायम गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनमा तथ्यांकगत केही फरक देखिएको भन्दै पुनः साधारणसभा गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको पछिल्लो निर्देशन बमोजिम तीनवटै संस्थाका साधारण सभाबाट पुनः अनुमोदन गराई अन्तिम स्वीकृतिको प्रक्रिया अघि बढाइएको हो ।

विशेष साधारणसभाले जीवन विकासको सञ्चालक समितिलाई मर्जर सम्बन्धी अन्य सम्पूर्ण प्राविधिक तथा कानुनी कार्यहरू पूरा गर्ने अख्तियारी समेत प्रदान गरेको थियो । गत चैत २८ गते तीन संस्थाबीच मर्जर सम्झौता भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि तीनवटै संस्थाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । 

मर्जर सम्पन्न भएपश्चात एकीकृत कारोबार जीवन विकास लुघवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ । कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा कार्यक्षेत्र विस्तार हुने र शाखा सञ्जाल २३३ पुग्ने जनाइएको छ ।

जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गर्दै आएको छ भने युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको जनाइएको छ ।

View : 16

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved