Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

संस्कार, संस्कृति जोगाउँदै भोजपुरका भुजेल

उद्घोष सम्वाददाता
२१ वैशाख २०८१, शुक्रवार

भोजपुरको दिङ्लामा भुजेल पुजारामे (ब्राओ) प्रशिक्षणमा सहभागीहरू । तस्वीरः उद्घोष

भोजपुर । भर्खरै एसईई दिएका षडानन्द नगरपालिका–७ दिङ्लाका समीर भुजेल उमेरले १४ वर्ष लागेका छन् । जातिगत संस्कार,संस्कृति, भाषा, धर्मका बारेमा केही जानकार नभएका उहाँ परिवारकै दबाबमा भुजेल पुजारामे (ब्राओ) प्रशिक्षणमा सहभागी भए । आˆनै जातिगत भाषा, संस्कार, संस्कृतिको बारेमा अध्ययन तथा जानकारी लिन पाउँदा खुसी भएको उनी बताउँछन् ।

वैशाख ९ गतेदेखि भएको १० दिने प्रशिक्षणमा आफूले धेरै कुराहरू सिकेको बताउँदै उनले पछि आफू पुजारामे भएर भुजेल जातिको संस्कार संरक्षणमा लाग्ने समेत प्रतिबद्धता जनाए ।

पहिलेदेखि हिन्दु संस्कार अनुसार पूजापाठ गर्दै आएका स्थानीय भुजेलहरू आˆनो भाषा, धर्म संस्कार संस्कृति हुन्छ भन्ने थाहा पाएसँगै संरक्षणमा जुटेका छन् । 

सोही क्रममा षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा भुजेल समाज सेवा नगर समितिले भुजेल जातिको लोपोन्मुख भाषा, संस्कार र संस्कृतिलाई संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले पुजारामे सम्बन्धी प्रशिक्षण आयोजना गरेको समितिका अध्यक्ष भक्तबहादुर भुजेलले बताए । उनका अनुसार, विगतका वर्षहरूमा पनि समितिले जातिगत भाषा, संस्कार संस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको थियो ।

यसले आˆनो कला, संस्कार, संस्कृति संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रशिक्षणमा भुजेली पर्व, जन्म, विवाह, मृत्यु संस्कार, पुर्खा स्मरण लगायतका संस्कार–संस्कृतिबारे जानकारी दिइएको प्रशिक्षक भुजेल संस्कार, संस्कृति संरक्षण समितिका केन्द्रीय सदस्य तथा ब्राओ बालकुमार भुजेलले बताए ।  

उनले भने, ‘हाम्रो आˆनै भाषा, कला, संस्कार संस्कृति छ यसलाई सबै क्षेत्रका भुजेलहरू एकजुट भएर संरक्षण गर्नुपर्छ ।

पछिल्लो समय जातिगत संस्कार संस्कृतिको जर्गेना गर्न भुजेलहरू जागृत भए पनि अपेक्षाकृत रूपमा अभियानमा सहभागिता छैन ।’  दिङ्लामा भएको भाषा, संस्कार संस्कृतिको तालिम सम्बन्धी जानकारी सबैमा छ तर उपस्थिति छैन, षडानन्द नगरपालिका कार्यसमिति सचिव दीपक भुजेलले भने । 

जिल्लामा भुजेल जातिहरूको संख्या अन्य जातिको भन्दा धेरैनै  छ । जिल्लाको षडानन्द नगरपालिकामा ४ सय १९ जना, साल्पासिलिछो गाउँपालिकामा १२ जना, टेम्केमैयुङ गाउँपालिकामा ४ सय २४ जना, भोजपुर नगरपालिकामा ५ सय १६ जना, अरूण गाउँपालिकामा ६ सय ३६ जना, पौवादुङ्मा गाउँपालिकामा १ सय ५२ जना, रामप्रसादराई गाउँपालिकामा ४ सय ७४ जना, हतुवागढी गाउँपालिकामा १ सय ८५ जना, आमचोक गाउँपालिकामा १ सय ३८ जना र संस्थागत रूपमा १३ जना गरी २ हजार ९ सय ६८ जना भुजेलहरू  छन् ।

उनीहरूमध्ये छिनामखु, भामराङ, दलगाउँ, दिङ्लालगायत क्षेत्रका जातिगत संस्कार अनुसार जन्म, मृत्यु तथा विवाह सम्बन्धी संस्कार गर्दै आएका छन् भने अन्य क्षेत्रमा संस्कार संस्कृतिको प्रयोग विस्तार हुँदै गएको भुजेल समाज सेवा जिल्ला समन्वय समिति भोजपुरका सचिव गोकुल भुजेलले जानकारी दिए । उनका अनुसार पिछडिएको वर्गमा रहेको भुजेल जातिहरूको संरक्षणका लागि जिल्लाका कुनै पनि स्थानीय तह तथा सरोकारवाला निकायले चासो दिएका छैनन् ।

‘जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ तर उहाँहरूलाई आˆनो भाषा, संस्कार–संस्कृति छ भन्ने थाहा नै छैन, अब जिल्लाका सबै पालिकामा जातिगत भाषा, संस्कार र संस्कृतिबारे तालिम, प्रशिक्षण, गोष्ठी आयोजना गरी प्रचारप्रसार सहित प्रयोगमा ल्याउन आवश्यक छ’  तालिममा सहभागी ब्राओ बलराम भुजेलले बताए ।

प्रशिक्षण कार्यक्रममा अरूण गाउँपालिकाका गोकुल भुजेल, टेम्केमैयुङ गाउँपालिकाका बलराम भुजेल, षडानन्द नगरपालिकाका समीर भुजेल र अणीबहादुर भुजेलले सक्रिय सहभागिता जनाएका थिए । उनीहरूबाट जातिगत संस्कार संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षासमेत गरिएको छ ।

View : 531

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved