विराटनगर । विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथु नेपाल नेत्र ज्योति संघको ३०औँ केन्द्रीय साधारणसभामा सम्मानित भएका छन्।
अस्पतालको संस्थागत विकास, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय नेत्र सेवा विस्तारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई सो सम्मान प्रदान गरिएको हो।
विगत १५ वर्षदेखि अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आएका पृथुले अस्पताललाई सेवा, प्रविधि र व्यवस्थापनका दृष्टिले नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
संस्थागत सेवा विस्तार, मानव स्रोत विकास, वित्तीय अनुशासन र सामुदायिक पहुँच अभिवृद्धिमा उनको योगदानको नेपाल नेत्र ज्योति संघले उच्च प्रशंसा गर्दै सम्मान गरेकाे हाे ।
साधारणसभाका अवसरमा विराटनगर आँखा अस्पताललाई पनि उत्कृष्ट नेत्र सेवा प्रदान गर्दै देशकै अग्रणी आँखा अस्पतालका रूपमा स्थापित हुन सफल भएको भन्दै विशेष सम्मान गरिएको छ।
अत्याधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन र समुदायमा आधारित कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अस्पतालले आफ्नो विशिष्ट पहिचान बनाएको छ।
सम्मान ग्रहण गरेपछि प्रबन्धक पृथुले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताए।
अस्पतालको सफलताको श्रेय उनले चिकित्सक, कर्मचारी, व्यवस्थापन समिति र सेवाग्राहीको विश्वासलाई दिएका छन् ।
आगामी दिनमा थप प्रभावकारी र सर्वसुलभ नेत्र सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।
उल्लेखनीय छ कि विराटनगर आँखा अस्पतालले नेपालका साथै भारत, बंगलादेश र भुटानका लाखौँ बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गरिरहेको छ।
उपचारका साथै अनुसन्धान र तालिमको क्षेत्रमा पनि अस्पतालले अग्रणी भूमिका निर्वाह गरिरहेको छ।
काठमाडौँमा आयोजित साे साधारणसभाको अध्यक्षता प्रा. डा. चेत्तराज पन्तले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. डा. रामप्रसाद पोखरेलको उपस्थिति थियो। कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार, श्यामकुमार पोखरेल, भरत चन्द र प्रा. डा. डीएन साह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
View : 188
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved