Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

राशी गोयल र रिद्मा कठायतलाई सम्मान

विराटनगरमा सीए उत्तीर्ण विद्यार्थी सम्मानित

उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था प्रोफेसनल करियर एन्ड एजुकेसन प्रा.लि. ले सीए (चार्टर्ड एकाउन्टेन्सी) कोर्षका विभिन्न तह सफलतापूर्वक उत्तीर्ण गर्न सफल विद्यार्थीहरूका लागि विशेष सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सीए कोर्षको अन्तिम तह (क्याप–३) उत्तीर्ण गरी ‘सीए’ को उपाधि हासिल गर्न सफल विद्यार्थी राशी गोयललाई विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी, सीए फाउन्डेसन (क्याप–१) तहमा देशभरिबाट ९औँ स्थान हासिल गर्न सफल प्रतिभाशाली विद्यार्थी रिद्मा कठायतलाई पनि विशेष पुरस्कारसहित सम्मान गरियो ।

उत्कृष्ट अङ्कका साथ विभिन्न तह पार गर्ने अन्य विद्यार्थीहरूलाई समेत पदक र प्रशंसापत्रद्वारा बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. मोहनकुमार सुवेदीले सफल विद्यार्थीहरूलाई बधाई दिँदै व्यावसायिक यात्रामा इमानदारी, अनुशासन र निरन्तर मेहनतको महत्वबारे प्रकाश पारे ।

उनले भने, “सीए जस्तो गरिमामय र चुनौतीपूर्ण उपाधि हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र नभई यो परिवार, संस्था र राष्ट्रकै गौरवको विषय हो ।”

संस्थाका निर्देशक सीए किञ्जल पोखरेलले विद्यार्थीहरूलाई व्यावसायिक क्षेत्रमा सफल हुन आवश्यक पर्ने सीप र नैतिक मूल्यहरूबारे महत्वपूर्ण सुझाव दिए। उनले किताबी ज्ञानका साथै व्यावहारिक अनुभव र सकारात्मक सोचका माध्यमबाट आफ्नो जीवनयात्रालाई थप सुदृढ बनाउन विद्यार्थीहरूलाई प्रेरित गरे ।

विराटनगरमा सीए शिक्षाको क्षेत्रमा लामो समयदेखि गुणस्तरीय योगदान पुर्‍याउँदै आएको यस संस्थाले हरेक वर्ष आफ्ना सफल विद्यार्थीहरूलाई यसरी नै प्रोत्साहित गर्दै आएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति थियो ।

View : 388

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved