Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशी प्रदेशमा छैठौं सरकार गठनको दाबी पेश गर्न दलहरुलाई प्रदेश प्रमुखको आह्वान (पत्रसहित)

उपधारा (५) अनुसार हिक्मत कार्कीले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गर्ने
उद्घोष सम्वाददाता
२६ वैशाख २०८१, बुधवार

बुधबार प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको लागि लिखित रुपमा पत्र बुझाउँदै नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु । तस्वीर: बाबुराम/उद्घोष

विराटनगर । कोशी प्रदेशमा छैटौं सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दाबी पेश गर्न दलहरुलाई तीन दिनको समय दिएर आह्वान गरेका छन् । 

नयाँ सरकार बनाउन केन्द्रित भएका नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको संवैधानिक बैधता समाप्त भएको भन्दै बुधबार प्रदेश प्रमुख खापुङ समक्ष लिखित मागसमेत गरेका थिए । 

प्रदेश सभाबाट पारित संकल्प प्रस्तावको निर्देशन अनुसार वर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत नलिएको र मुख्यमन्त्री कार्कीलाई समर्थन गरेका ५२ जना प्रदेश सभा सदस्यहरुले समर्थन फिर्ता लिएको पत्र समेत प्राप्त हुन आएको भन्दै प्रदेश प्रमुख खापुङले बैशाख २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नै सरकार गठनका लागि आह्वान गरेका छन् ।

२०८१ बैशाख ७ मा प्रदेश सभाको विशेष अधिवेशनबाट पारित भएको संकल्प प्रस्ताव अनुसार मुख्यमन्त्री कार्कीको तर्फबाट विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता नभएको जानकारी बुधबार प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश प्रमुखको कार्यालयलाई गराएका हुन् ।

सोही जानकारी र महान्यायधिवक्ताको कार्यालयसँगको परामर्शमा प्रदेश प्रमुख खापुङले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

सरकार गठनको प्रक्रियासम्म पुर्‍याउनका लागि दलहरुले बुधबार दिनभर गृहकार्य गरेका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने समय घर्काएर राजिनामा समेत नदिई बसेपछि नेकपा एमाले र माओवादी केन्द्रका प्रदेशस्तरीय शीर्ष नेताहरू विहानैदेखि छलफलमा जुटेका थिए । 

छलफलमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, उपनेता राम राना, प्रमुख सचेतक रेवतिरमण भण्डारी तथा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश सांसद जीवन आचार्य छलफलमा सहभागी थिए । उनीहरुले छलफल सकेर सभामुख अम्बरबहादुर बिष्टलाई भेटेर मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको जानकारी प्रदेश प्रमुखलाई गराउन आग्रह गरेका थिए । त्यसपछि सभामुख बिष्टले दलहरुको निवेदनका आधारमा प्रदेश प्रमुखलाई समेत त्यसको जानकारी गराएका थिए । 

मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत पनि नलिएको र राजिनामा पनि नदिएका कारण संसदबाट पारित भएको संकल्प प्रस्तावको निर्देशन अनुसार नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेका थिए ।

मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने ३० दिनको समय मंगलबार राति १२ बजेपछि समाप्त भएको भन्दै नयाँ सरकार आह्वानका लागि माग गरेका थिए । यसअघि नै एमाले र माओवादीका ५२ जना सांसदहरुले कोशी प्रदेशमा दुई वा दुईभन्दा बढी दलहरुकै संलग्नतामा संविधानको धारा १६८ को उपधारा (२) अनुसार समेत नयाँ सरकार गठन गर्न सकिने सन्देश प्रदेश प्रमुख खापुङलाई गराइसकेका थिए ।

प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेसँगै वर्तमान सरकार कामचलाउ हैसियतमा पुगेको छ । तर मुख्यमन्त्री कार्की भने उपधारा (५) अनुसारको मुख्यमन्त्रीले एक पटक विश्वासको मत पाइसकेका कारण पुनः विश्वासको मत लिनु नपर्ने र आफू नेतृत्वको सरकार दुई बर्षसम्म टिक्ने दाबी गरिरहेका थिए । 

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) मै फर्काउने वा उपधारा (५) अनुसार नै दाबीका लागि आह्वान गर्ने भन्ने विषयमा लामो परामर्श लिएका थिए । 

उपधारा (२) मा फर्काउँदा कोशी प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने अवस्था आएमा कोशी प्रदेशमा माओवादीबाट समेत मुख्यमन्त्री बन्ने सम्भावनालाई कायमै राख्न माओवादी केन्द्रले भने उपधारा (२) अनुसारको सरकार गठनको आह्वान गर्नुपर्ने लविङ गरेको जनाइएको छ । वर्तमान सत्ता गठबन्धनको सहमति अनुसार कोशी प्रदेशमा नेकपा एमालेले सरकारको नेतृत्व गर्ने बिषयमा सैद्धान्तिक सहमति टुंगिएको जनाइएको छ । 

प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भएका कारण एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार विहान १० बजे दाबी पेश गर्ने प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए । उपधारा (५) बमोजिमको दाबी पेश गर्नका लागि एमाले र माओवादी केन्द्रका सवै सांसदहरुलाई विराटनगर बोलाएको जनाइएको छ ।

‘प्रदेश प्रमुखबाट उपधारा (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएको छ, हामी भोली बिहीबार १० बजेतिर दाबी पेश गर्दैछौं’ प्रमुख सचेतक भण्डारीले भने, ‘दाबी पेश गर्दा नै सनाखतको समयका लागि मिलानका लागि माग गरेका छौं, सनाखत सकिएपछि भोली नै नियुक्ति गर्नुहुन्छ भन्ने विश्वास गरेका छौं, विगतमा केदार कार्कीलाई मुख्यमन्त्री नियुत्त गर्दा पनि सनाखतपछि तुरुन्तै नियुक्त भएकोले यसपटक पनि त्यस्तै हुनेछ ।’

वर्तमान मुख्यमन्त्री केदार कार्की नेकपा एमालेकै ३९ जना सांसदहरुको समर्थन र सनाखतबाट २०८० असोज २७ मा कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री नियुत्त भएका थिए । त्यसअघि कोशीमा एमालेकै हिक्मतकुमार कार्की उपधारा (२) र (३) अनुसार दुई पटक मुख्यमन्त्री नियुत्त भए । त्यसै बिचमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री नियुत्त भएका थिए ।

View : 71

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved