मध्यरातमा कप्तानगञ्ज तनावग्रस्त :
विराटनगर । सुनसरीको कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्रालाई लिएर युवाहरूको समुहबिच उत्पन्न विवाद उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनु परेको छ । प्रहरीको गोली लागेर एक युवकको ज्यान समेत गएको छ ।
आइतबार राती भएको युवाहरूबिचको झडपमा सर्वसाधारण र प्रहरीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको प्रहरीको गोली लागेर ज्यान गएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पु¥याइएको थियो । उपचारकै क्रममा आइतबार राति चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एक पक्षले मध्यरातमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो ।
रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै अर्को पक्षले विरोध गरेपछि दुवै समूहबीच भएको भनाभन दोहोरो झडपमा परिणत भएको हो । दुई पक्षबीचको झडप उग्र बनेर घरहरूमा समेत आक्रमण र तोडफोड हुन थालेपछि परिचालन भएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जनाएको छ ।
प्रहरीले स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको जनाएको छ । त्यसपछि हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।
घटनामा गोली लागेर घाइते भएका आठ जना सर्वसाधारणको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी अस्पतालमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव उपचाररत छन् ।
त्यसैगरी विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता तथा अर्का २५ वर्षीय सुनिलकुमार मेहताको उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरूमध्ये अधिकांशलाई गोली लागेको छ ।
झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना प्रहरीसमेत घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव तथा जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव रहेका छन् ।
घटनापछि कप्तानगञ्ज तथा आसपासको क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved