विराटनगर । पर्यटक भिषामा नेपाल आएर धार्मिक गतिविधिमा संलग्न रहेका छ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले केही नेपालीहरूसहितको उपस्थितिमा ‘लाफिङ बुद्ध’ को प्रतिमा राखेर कार्यक्रम गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
विराटनगरकै इष्टर्न स्टार होटलमा उनीहरूले कार्यक्रम गरेका थिए ।
गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले कार्यक्रम भइरहेकै समयमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा सिंगापुरका नागरिक को वी हक, लोह ली पेङ, ली बेङ एन, लोह ली तियान, ओङ चिउ कोक र चिउ टेक फोक रहेका छन् ।
को वी हकले सन् २०१६ देखि हालसम्म ३६ पटक नेपाल ओहोरदोहोर गरेको खुलेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारको सभाहलबाट शनिबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले लाफिङ बुद्ध सम्बन्धी धार्मिक कार्यक्रम गोप्य रूपमा सञ्चालन गरिरहेको पाइएको प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरु सबै ६ जना पर्यटक भिसामा नेपाल आएका सिंगापुरका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । पर्यटक भिसामा नेपाल आएर धार्मिक गतिविधि गरेको पाएको उनले बताए ।
कार्यक्रम स्थलमा उनीहरूले हिंसा गर्नु हुँदैन भन्ने सन्देशसहितको ‘लाफिङ बुद्ध’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रहरीले नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्षमुनिका १२ जना किशोरीसहित कूल ३० जना उक्त प्रशिक्षणमा सहभागी भएको जनाएको छ ।
कुनैपनि विदेशी नागरिकले पर्यटक भिषामा नेपाल आएर आफ्नो उद्देश्यविपरीतको कार्य गरेको देखिए अध्यागमन ऐन अनुसार भिसा नियम उल्लंघन गरेको आरोपमा जरिवानासहित निष्कासनसम्मको कारबाही हुनसक्ने जनाइएको छ ।
पक्राउ परेका विदेशी नागरिकहरूको राहदानी बरामद गरेर थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको प्रवक्ता लामिछानेले बताए ।
View : 146
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved