Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मनसुनको पूर्व तयारी गर्दै नेपाली सेना

उद्‌घोष संवाददाता
८ जेठ २०८३, शुक्रवार

सुनसरी । मनसुनको समयमा कोशी प्रदेशमा हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई दृष्टिगत गर्दै नेपाली सेनाले विपद् व्यवस्थापन तथा उद्धार तयारीलाई तीव्र बनाएको छ । 

सोही तयारी अन्तर्गत नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर अन्तर्गत श्री नं. २ बाहिनी अड्डाले सुनसरीमा सञ्चालन गरेको एकीकृत जिल्ला विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन–६’ अन्तर्गत विपद् प्रतिकार्य अभ्यास बिहिबार सम्पन्न भएको छ । 

रामधुनी नगरपालिका–५ स्थित चौसठ्ठी बिघामा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, युद्ध मद्दती, युद्ध सेवा मद्दती तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । 

मनसुनका बेला बाढी, डुबान, कटान तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमलाई समयमै व्यवस्थापन गर्न र उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन अभ्यास सञ्चालन गरिएको जनाइएको छ । 

अभ्यासका क्रममा सम्भावित विपद्का घटनाको कृत्रिम अवस्था सिर्जना गरी उद्धार, राहत व्यवस्थापन, घाइतेको उद्धार तथा समन्वयका विविध पक्षहरूको प्रदर्शन गरिएको थियो । 

पूर्वी पृतनाले विपद्को बेला विभिन्न सुरक्षा निकाय र सम्बन्धित संस्थाहरूबीच समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभ्यास नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ । 

अभ्यासले मनसुनजन्य विपद् आउनुअघि तयारी अवस्थाको परीक्षण गर्नुका साथै आपत्कालीन अवस्थामा छिटो र प्रभावकारी रूपमा परिचालन हुन आवश्यक जनशक्ति तथा स्रोत व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको पूर्वी पृतनाका उपरथी गौरवकुमार केसीले बताए । 

कोशी प्रदेशमा हरेक वर्ष मनसुनका समयमा बाढी, डुबान र प्राकृतिक विपद्का घटना दोहोरिने गरेकाले यसपटक पनि पूर्वतयारीलाई प्राथमिकतामा राखेर सुरक्षा संयन्त्र सक्रिय भएको उपरथी केसीको भनाइ छ । 

कोशी प्रदेशका तराईका जिल्लामा बाढी तथा डुबान र पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम रहेकाले पूर्व तयारी गरिएको केसीले जानकारी दिए । 

बिगतमा कोशी प्रदेशमा रहेको बिभिन्न क्षेत्रमा मनसुनी बर्षाको कारण बाढी, पहिरो लगायत पानीजन्य विपद्बाट ठूलो धनजनको क्षती हुने गरेको भन्दै सबै मिलेर पहिल्यै तयारी गर्दा क्षती न्यूनीकरण गर्न सकिने भएकाले पूर्व तयारी अभ्याससमेत गरिएको पृतनापति केसीको भनाइ छ ।

View : 239

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved